बाढीले बगर बनायो, ढुंगामुढा केलाएर खेत बनाउँदै किसान

बाढीले थुपारेका ढुंगा र माटोका ढिस्का स-साना पहाडझैं देखिन्थे, ढिस्कालाई डोजर लगाएर पन्छ्याइँदै छ, ट्र्याक्टर लगाएर सम्याइँदै छ, जराका ठुटा र ढुंगा हटाइँदै छ, कतै ड्याङ बनाएर आलु रोप्ने तयारी हुँदै छ

माघ १७, २०८१

ज्योती श्रेष्ठ

The flood made a bog, the farmer building a field with stones

काभ्रे — बेथानचोक गाउँपालिका–३ स्थित पाट्ने खोलाछेउ फाँटको खेत एक महिना अघिसम्म पूरै बगर थियो । बाढीले थुपारेका ढुंगा र माटोका ढिस्का थिए, स–साना पहाडझैं देखिन्थे । तर अहिले बगर बिस्तारै फाँट बन्दै छ । फाँटैभरि किसान भेटिन्छन् । ढुंगा–माटोका ढिस्कालाई डोजर लगाएर पन्छ्याइँदै छ ।

पन्छ्याइएका गरामा कोही ट्र्याक्टर लगाउँदै छन्, कोही ट्र्याक्टर लगाएपछि निस्किएका जराका ठुटा र ढुंगा हटाउँदै छन् । कोही किसान ड्याङ बनाएर आलु रोप्दै छन् । खेतको आडैमा छ पाट्ने खोला । कुन बेला उर्लेर आउँछ पत्तो छैन । कुन बेला बालीलाई क्षति पुर्‍याउँछ अनुमान लगाउन सकिँदैन । बेथानचोक– ३ सयाँलेका इन्द्रलाल श्रेष्ठलाई हरेक वर्ष बाढीले क्षति पुर्‍याउने पो हो कि भन्ने चिन्ता भइरहन्थ्यो । 

नभन्दै असोजको दोस्रो साता आएको बाढीले उनले लगाएको मकै र तरकारी नष्ट पारिदियो । ‘बाली कता हो, खेतबारी कता हो, केही नाम निसानै रहेन, सोच्दै नसोचेको भयो,’ उनले भने । १० रोपनीमा लगाएको तरकारी तथा अन्न उनले केही भित्र्याउन पाएनन् । आलु, मकै र तरकारी गरेर करिब ४ लाख क्षति भएको उनको अनुमान छ । ‘कृृषिबाहेक अरू इलम छैन, अरू काम गर्ने सीप पनि छैन,’ उनले भने, ‘अब बाढीले क्षति नगराएको ठाउँलाई मर्मत नगरे खाने अन्न हुँदैन, बगर बनेको खेतबारीलाई आफैंले बनाउन सुरु गरेका छौं ।’ सातायता उनी खेत बनाउनमै व्यस्त छन् ।

‘बाढीले बिगारेको खेत अरू कसैले आएर बनाइदिने होइन । जसरी सकिन्छ, त्यहीअनुसार नै बनाउने हो,’ उनले भने, ‘एक घण्टाको ६ हजार रुपैयाँ तिरेर १८ घण्टा डोजर लगाइयो, दिनको १५ हजार रुपैयाँ तिरेर ३ दिन टिपर पनि प्रयोग गरेँ, खेत बनाउन करिब डेढ लाख रुपैयाँ खर्चिसकेको छु । ऋण गरेरै बाढीले विनाश गरेको खेत बनाइरहेछु ।’

खेत बनाइसकेपछि आलु, बन्दा, मुला र धनियाँलगायत तरकारी लगाउने उनको तयारी छ । ‘राम्रो आम्दानी भयो भने त्यसैबाट बचेको पैसाले ऋण तिर्नुपर्छ,’ उनले भने, ‘तरकारीले राम्रो भाउ पाएमा एक/दुई वर्षसम्ममा ऋण तिरिसकिन्छ कि भन्ने लागेको छ ।’ 

करिब ३ सय मिटर माथिबाट ढुंगा–माटोसहित आएको पहिरो र करिब ७/८ फिट माथि पाट्ने खोलाबाट हिलोसहित आएको बाढीले खेतीयोग्य जमिनलाई स–साना पहाडझैं बनायो । उर्वर खेतीयोग्य जमिनलाई बाढीले क्षति पुर्‍याएपछि स्थानीय किसान उद्धवप्रसाद घिमिरेलाई आम्दानीको स्रोत कसरी जुटाउने भन्ने चिन्ता थियो ।

त्यही फाँटमा आलु, धनियाँ, मुलालगायतका तरकारी लगाएर उनले वार्षिक रूपमा ४/५ लाख रुपैयाँ आम्दानी गर्दै आएका थिए । बाढीले खेतीयोग्य जमिनमा क्षति गराएपछि गुजारा धान्न मुस्किल भएकाले उनी आफैं कस्सिएर खेत बनाउन लागेका छन् । 

‘गुजारा त चलाउनैपर्‍यो, सधैं यसरी बसेर पनि भएन, अरूको बाटो हेरेर बसेर पनि त भएन,’ उनले भने, ‘ऋण खोजेर भए पनि १ लाख रुपैयाँ खर्च गरेर खेत बनाइयो, आलु र तरकारी खेती यहाँ राम्रो हुन्छ, त्यही लगाउने तयारी गरेको छु ।’ उनका अनुसार, तरकारी पहिलाजस्तो नफल्ने हो कि भन्नेचाहिँ चिन्ता छ । पहिला यहाँको माटो उर्वर भएकाले राम्रो फल्ने गरेको उनले बताए ।

‘लेदोसहित आएको बाढीले खेतमा चुली परेको थियो, डोजर लगाएर सम्याइएको त छ, तर जति खन्यो उति ढुंगा भेटिन्छन्, ढुंगा केलाएर साध्य छैन, बाढीले यहाँको माटो बिगारेको छ कि भन्ने चिन्ता छ ।’

बेथानचोक–२ की पवित्रा अधिकरीले पनि एक महिनादेखि खेत मर्मत सुरु गरेकी छन् । बाढीले बाली र खेतमा क्षति पुर्‍याएपछि उनी मर्मतमा जुटेकी हुन् । वर्षौंदेखि तरकारी खेतीबाट गुजारा चलाउँदै आएको र यसबाहेक अरू आम्दानीको स्रोत नभएकाले मर्मत गर्न सुरु गरेको उनले बताइन् । ‘अहिले मर्मत गरेर तरकारी लगाइयो भने ३/४ महिनापछि आम्दानी निकाल्न सकिन्छ,’ उनले भनिन्, ‘अहिले मर्मतमा १ लाख १० हजार रुपैयाँ खर्च गरिसकेँ, अब आलु लगाउने हो, त्यसपछि अरू तरकारी पनि लगाउनुपर्छ ।’

असोज दोस्रो साता आएको बाढीपहिरोले बेथानचोक गाउँपालिकाको विभिन्न स्थानमा खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले बताए । उनका अनुसार, गाउँपालिकाले गाउँसभाबाटै बाढीपहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्‍याएपछि खाद्य सुरक्षाका लागि कार्यक्रम गर्ने निर्णय गरेको थियो । उनका अनुसार, पाट्ने खोला, दुर्लुङ खोला, सलान्दु खोलाको सीमांकन तथा व्यक्तिको जमिन यकिन कार्यअन्तर्गत सीमांकन गर्ने तयारी छ । उक्त कार्यका लागि नापी र मालपोत कार्यालयसँग समन्वय र सहकार्य भइरहेको उनले बताए । 

कृृषि र पशुमा आत्मनिर्भर भएको पालिका बेथानचोकले विपद् पहिले दैनिक ५ देखि ६ हजार केजी तरकारी र २२ हजार लिटर दूध निर्यात गर्दै आएको पालिकाको कृषि तथा पशुपन्छी शाखाले जनाएको छ । शाखाका अनुसार, विपद्पछि करिब २ हजार तरकारी र १८ हजार लिटर दूध मात्र निर्यात भइरहेको छ । पालिकाभर करिब ४२ सय कृषक घरधुरी रहेकामा विपद्बाट १९ सय २६ जना कृषक प्रभावित भएको तथ्यांक छ । पालिकाको कुल कृषियोग्य ३३ सय ४४ हेक्टर क्षेत्रफल जमिनमध्ये ९ सय हेक्टर क्षेत्रफलमा क्षति पुगेको शाखाले जनाएको छ । पालिकाको वडा नं २, ३ र ४ मा धेरै क्षति पुगेको छ ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully