दुई जनाले हत्या गरेपछि शव व्यवस्थापन गर्न अरूले सघाएको स्थानीयको आशंका
अछाम — ढकारी गाउँपालिकाका–८ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शंकास्पद मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । दुईमध्ये एक कशोरीसँग भएको नियमित सम्पर्कलाई मुख्य आधार बनाएर ढकारीकै दुई किशोरविरुद्ध परेको उजुरी प्रहरी कार्यालयमा मंगलबार दर्ता गरिएको हो ।
घटना अनुसन्धानका लागि प्रहरीले आइतबार राति दुई जना र सोमबार दिउँसो ११ वर्षीय बालकसहित ३ जनालाई अनुसन्धानका लागि हिरासतमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये दुई जनाविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
मृतक किशोरीका आफन्त एवं ढकारी–८ का पूर्ववडाध्यक्ष लालबहादुर भण्डारीले शुक्रबार दुई किशोर पनि घटनास्थलमा गएको र इशरासँग उनीहरूको एक वर्षदेखि नियमित फोन सम्पर्क भएको पाइएकाले किटानी जाहेरी दिएको बताए । इशरा र सरस्वतीको शव शुक्रबार स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । दुवै शव १५ मिटरको दूरीमा थिए । शुक्रबार दिउँसो करिब २ बजे ५ जनाले ढुंगा खसाल्दै गरेको देखेको ढकारी–८ की एक किशोरीले प्रहरीलाई बताएपछि प्रहरीको विशेषज्ञ टोली मंगलबार फेरि घटनास्थलतर्फ गएको छ ।
डीएसपी भण्डारीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम जारी रहेको पनि जानकारी दिए । ‘पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । प्राविधिक विश्लेषण भइरहेको छ । शंकाका घेरामा भएकाहरूको बयानलाई समेत राखेर घटनाबारे छिटै औपचारिक जानकारी दिन्छौं,’ डीएसपी भण्डारीले भने । उनका अनुसार घटनाको थप अनुसन्धानका लागि काठमाडौंबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली बिहीबार अछाम आउने भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्दलगायतको विशेषज्ञ टोली मंगलबार साँझ अछाम आइपुगेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार आइतबार नियन्त्रणमा लिइएका दुई जनाले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । उनीहरूले घटनामा अन्य केहीको संलग्नताबारे जानकारी दिएको ती अधिकारीको भनाइ छ । ‘घटनामा संलग्न भएको आशंकामा अझै केही पक्राउ पर्न सक्छन्,’ उनले भने, ‘कसरी, किन त्यस्तो घटना गराइयो भन्ने विषयमा नियन्त्रणमा लिएकाहरूको बयान र पोस्टमार्टम रिपोर्टले धेरै कुरा बताउनेछ ।’
स्थानीयका अनुसार घटनामा जोडिएका ११ वर्षीय बालककी आमा किटानी जाहेरी परेका एक किशोरकी फुपू हुन् । ती बालकको घर र मृतक किशोरीको घर एकै गाउँमा पर्छ । ‘ती किशोरहरू फुपूलाई माघी पुर्याउन आएका थिए । त्यसै बेला किशोरीहरूसँग सम्पर्क भएको र उनीहरूले ‘जंगलमा छु’ भनेपछि ती बालकलाई साथमा लिएर जंगल गएको देखिन्छ,’ एक स्थानीयले भने, ‘ती किशोरहरू अर्को गाउँका भएकाले जंगल देखाउन ती ११ वर्षका बालक साथमा गएका थिए ।’
हत्याको पूर्वयोजना नभएको तर घटनास्थल पुगेपछि मात्रै सम्बन्ध बिग्रेको हुन सक्ने किशोरीका एक आफन्तले बताए । ‘जंगल देखाउन बच्चालाई लगेकाले मृतक किशोरी र उनीहरूको सम्बन्ध घटनास्थलमा पुगेपछि मात्रै बिग्रेको जस्तो लाग्छ । घटनास्थलमा उनीहरूबीच के कुरा मिलेन भन्ने थाहा पाउन सकेका छैनौं,’ उनले भने, ‘केही कुरा नमिलेपछि हत्या गरेर शव व्यवस्थापन गर्न अरूले पनि सघाएको जस्तो देखिन्छ । भवितव्य जस्तो देखाउनलाई ढुंगा पछि खसाएको हुन सक्छ ।’
