समाजवादी मोर्चाद्वारा सरकारको आलोचना

सुशासनलाई कमजोर पार्ने र अर्थतन्त्र धराशायी बनाउने कदम चालेको आरोप

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Criticism of the government by the Samajwadi Morcha

काठमाडौँ — सुशासनलाई कमजोर पार्ने र अर्थतन्त्र धराशायी बनाउने कदम चालेको भन्दै समाजवादी मोर्चाले सरकारको आलोचना गरेको छ । मोर्चाका नेताहरूले सरकार अध्यादेशको सहारामा निरंकुशतर्फ अघि जान खोजेको टिप्पणी पनि गरेका छन् । 

माओवादी, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी सम्मिलित मोर्चाले मंगलबार काठमाडौंमा गरेको विचार सभामा अध्यक्ष पुष्पकमल दाहालले प्रतिपक्षी दलहरू साझा धारणा बनाएर संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने बताए । आफूहरूले विशेष अधिवेशन बोलाउने चेतावनी दिएपछि मात्र सरकारले संसद् अधिवेशन आह्वान गरेको उनको भनाइ थियो । 

सरकारले विरोधीलाई प्रतिशोध साँध्ने काम गरिरहेको पनि माओवादी अध्यक्ष दाहालले टिप्पणी गरे । ‘सरकारले भ्रष्टाचारीलाई बचाउने काम गरेको छ । जतिसुकै अपराध गरे पनि आफ्नालाई चोख्याउने काम गरेको छ,’ उनको आरोप थियो । उनले समाजवादी मोर्चा वामपन्थी एकताकै लागि बनेको पनि बताए । ‘हामीले नेकपा गठन गरेकै हो । पर्यार्प्त तयारी नहुँदा झन् निराशा बढायो,’ उनले भने, ‘समाजवादी मोर्चालाई सुदृढ गर्दै लैजाने हो । हतार गर्नु हुँदैन । कछुवा गति पनि गर्नु हुँदैन ।’ 

अग्रगामी राजनीतिको विकल्प दिने मोर्चाको प्रयास रहने दाहालको भनाइ छ । ‘एकता र ध्रुवीकरणको तयारी गर्नुपर्छ । देशमा बेथिति र प्रतिगमनविरुद्ध नेतृत्व लिन सुरु गर्नुपर्छ,’ उनले भने, ‘राजनीति र देशको भाग्यप्रति चिन्तित समुदायलाई अपिल गर्न राष्ट्रिय राजनीतिमा सकारात्मक र प्रगतिशील विकल्पमा अघि बढ्दै छौं,’ उनले भने ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको कामबाट जनता निराश भएको बताए । ‘सरकार गफमा अगाडि छ, परिणाममा पछाडि छ,’ उनले भने, ‘०८४ को चुनावमा जनताले विकल्प खोजेका छन् ।’ उनले जनता समाजवादी पार्टी विभाजन गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका भएकाले उपेन्द्र यादव मोर्चामा आउन नसकेको टिप्पणी गरे । समाजवादी मोर्चालाई सशक्त रूपमा अघि बढाउनुपर्ने नेपालको भनाइ थियो । ‘मोर्चालाई जसरी अघि बढाउनुपर्ने थियो, सकेनौं,’ उनले भने, ‘मोर्चाले देश र विदेशसम्म तरंग पैदा गर्न सक्छौं । कतिपय पार्टी चाहेर पनि मोर्चामा आउन सकेका छैनन् । प्रतिपक्षहरूलाई पनि समेट्नुपर्छ ।’

मोर्चाका संयोजक एवं नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिए । ‘समाजवादी विचार राख्नेहरूबीच सहमति गरी देशलाई अघि लान जरुरी छ,’ उनले भने, ‘समाजवादीहरूले मुलुकको शासकीय स्वरूप परिवर्तन गरी मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छन् ।’ नेपाल समाजवादी पार्टीका संयोजक महिन्द्र राय यादवले समाजवादी मोर्चालाई ध्रुवीकरण गरेर जानुपर्ने बताए ।

कान्तिपुर

Link copied successfully