समाजवादी मोर्चाले काठमाडौंमा चैत २४ गते जनप्रदर्शन गर्ने

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Samajwadi Morcha will hold public demonstration in Kathmandu on Chait 24

काठमाडौँ — समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रीय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले चैत पहिलो हप्ता मधेशमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताए । उनका अनुसार समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ ।

त्यस्तै समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको उनले बताए ।  बैठकले वर्तमान सरकार गणतन्त्रविरोधी  देखिएकोसमेत निष्कर्ष निकालेको छ ।

बैठकले समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेश प्रदेशमा मोर्चामा सहभागी चार वटै राजनीतिक दलहरुलाई समाजवादी मोर्चा पुनःगठन गर्ने जिम्मा दिने र देशभर मोर्चा गठन गर्न बाँकी भएका ठाउँमा नेपाल समाजवादी पार्टीलाई संलग्न गरेर समाजवादी मोर्चा गठन गर्ने निर्णय गरेको छ । 

बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति, चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग सरकारले गरेको सहमति र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णयसमेत गरेको छ । 

कान्तिपुर

Link copied successfully