वन तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा रहेको छ : मन्त्री शाही 

माघ १६, २०८१

माधव अर्याल

The Forest and Wildlife Protection Act is under revision: Minister Shahi

पाल्पा — वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वन तथा वन्यजन्तु संरक्षण ऐन सशोधनको क्रममा रहेको बताएका छन् । उनले वन, वन्यजन्तु संरक्षणका साथै वातावरणसंग सम्बन्धित नीतिगत समस्या समाधानका लागि संशोधन गर्न लागेको बताए । 

प्रेस युनियन पाल्पाले बुधबार रामपुर नगरपालिका–८, खालीवन खैरेनी सामुदायिक वनको गिद्ध पार्कमा गरेको पत्रकार भेटमा बोल्दै उनले वन, वन्यजन्तु संरक्षणका साथै वातावरण संरक्षण नियमावलीका कारण कतिपय विकास निर्माणको काम प्रभावित भएकाले संशोधनको प्रक्रिया अघि बढेको बताए । ‘वन ऐनका साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन गर्ने क्रममा छौं,’ उनले भने, ‘वातावरण संरक्षण ऐन नियमावली पनि संशोधनसहित आउने छ । जसले गर्दा विकास निर्माण र वनबीच नजिकको सम्बन्ध भए पनि स–साना कारणले अप्ठ्यारा आउने गरेकाले पनि संशोधनको प्रक्रिया अघि बढाएका छौं ।’ 

मन्त्री शाही ठकुरीले विदेशबाट काठ आयात हुने तर स्वदेशमा जंगल मै सडेर जाने परिस्थिति रहेको बताए । वन ऐन संशोधन गरेर स्वदेशी काठ सदुपयोग गर्नुका साथै बाह्य मुलुकबाट आयात गर्न निरुत्साहित गरिने उनले बताए । ‘त्यसका लागि हामीले आवश्यक कार्ययोजना बनाइरहेका छौं,’ उनले भने । पछिल्ला वर्षमा जलवायु परिवर्तनको असर हाम्रो मुलुकले पनि भोग्नु परेको बताउँदै न्यूनीकरणका लागि प्रयास गर्ने बताए । 

लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षण अभियानले संख्या क्रमश बढेको जानकारीले आफुलाई खुसी तुल्याएको बताउँदै जैविक, प्राकृतिक र धार्मिक हिसावले महत्वपूर्ण रहेको उनले बताए । कार्यक्रममा लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले चरा संरक्षणको लागि वन ऐनमा स्पष्ट नीति हुनुपर्ने बताउँदै वन ऐनमा विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले ६ प्रजातिको गिद्ध पाईने खैरेनी वनको प्रवर्द्धन र आयआर्जनमा मद्दत पुग्ने गरी काम गर्न खोजेको बताए । खैरेनी सामुदायिक वनका अध्यक्ष छायाँचन्द्र पंगेनीले वनमा अहिले पनि ३४ वटा गुँड रहेको र गिद्धको यस क्षेत्रमै प्रमुख बासस्थान रहेको बताए ।

कार्यक्रममा पत्रकारहरु दान बहादुर हिस्की, दुर्गेश मल्ल, इमानसिंह राना, शोभाकान्त पाठक, वासुदेव ढकाल लगायतले लोपोन्मुख गिद्धको बासस्थान रहेको खैरेनी वन जैविक, प्रकृति हिसावले महत्त्वपूर्ण स्थान रहेकाले यसको संरक्षण र प्रचारप्रसारका लागि सरोकारवाला निकायको ध्यान पुग्नुपर्नेमा जोड दिएका थिए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully