सरकारले गठन गरेको विज्ञ सम्मिलित कार्यदलले दिएको सुझावलाई लत्याउँदै किन सरकार अघि बढ्यो ?
काठमाडौँ — सरकारले गठन गरेको विज्ञ सम्मिलित कार्यदलले दिएको सुझावलाई लत्त्याउँदै सरकारले निजी मेडिकल कलेजमा स्नातकोत्तर पढ्दै गरेका आवासीय (रेसिडेन्ट) चिकित्सकको विषयमा आइतबार नीतिगत निर्णय लियो । प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा आयोगका सहअध्यक्ष तथा स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले यस्तो निर्णय लिएका हुन् ।
यसको विरोधमा अब स्नातकोत्तर पढ्दै गरेका आवासीय (रेसिडेन्ट) चिकित्सकहरू आन्दोलनमा उत्रिने तयारीमा देखिन्छन् ।
सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच पछिल्लो ६ महिनायता विवाद चर्किरहेको थियो । विवादको केन्द्रमा थियो, निजी मेडिकल कलेजमा एमडी/एमएस पढिरहेका विद्यार्थीको निर्वाह भत्ता, सेवा सुविधा र श्रम शोषणलगायतका विषय । तर यो विषयमा आन्दोलनरत पक्षलाई विश्वासमा नलिईकन प्रधानमन्त्री आफैं निर्णयका लागि अग्रसर भए ।
सरकारले निजी मेडिकल कलेजमा स्नातकोत्तर पढ्दै गरेका आवासीय (रेसिडेन्ट) चिकित्सकलाई मासिक २५ हजार देखि ३५ हजार मासिक निर्वाह भत्ता दिने निर्णय गरेको छ । उक्त निर्णयमा एमडी/एमएस पूरा गर्ने चिकित्सकले दुई वर्ष काम गर्ने सर्त गरे निजी मेडिकल कलेजले निःशुल्क अध्यापन गराउने व्यवस्था गर्ने उल्लेख छ ।
आवासीय चिकित्सकहरूको आरोप छ- सरकारले गरेको निर्णय निजी मेडिकल कलेजको पक्षमा छ । सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका सहसंयोजक डा. अरुण उप्रेतीले मासिक निर्वाह भत्ता सरकारी मेडिकल कलेजमा सो सरह ४८ हजार हुनुपर्ने र निःशुल्क अध्ययन गर्ने व्यवस्था भए पनि काम गर्दा श्रम शोषण हुने सम्भावना रहेको बताए । त्यसैले आफूहरू आन्दोलनमा उत्रने तयारीमा लागेको उनले बताए । समितिका संयोजक डा. शेषराज घिमिरेले विज्ञप्ति जारी गरेर शिक्षा र स्वास्थ्यमन्त्रीले गरेको निर्णय भर्त्सना योग्य रहेको जनाएका छन् । उक्त निर्णयहरू २४ घण्टाभित्र सच्याउनसमेत माग गरिएको छ । मन्त्रीद्वयको निर्णयले मेडिकल शिक्षामा श्रम शोषण कायमै रहने विज्ञप्तिमा उल्लेख छ ।
समितिले अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सकसहित स्वास्थ्यकर्मीलाई आक्रमण भएपछि त्यसविरुद्ध आन्दोलन गर्दै आएको थियो । त्यही क्रममा आवासीय चिकित्सकलाई सरकारी वा सो सरह निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने माग पनि समितिले अघि सार्यो । चिकित्सकहरूको ड्युटीको समयलगायत सेवा सुविधाको विषयमा पनि समितिले आवाज उठाउँदै आएको थियो । स्वास्थ्य मन्त्रालय र समितिबीच मासिक सरकारी वा सो सरह (४८ हजार) निर्वाह भत्ता उपलब्ध गराउने सहमति दुई वर्षअघि नै भएको थियो । सहमति कार्यान्वयनका लागि आयोगलाई लेखि पठाउने निर्णय समेत भइसकेको थियो ।
गत भदौमा आयोगले मेडिकल कलेज सञ्चालकहरूले तोकिएको निर्वाह भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाए मात्र स्नातकोत्तर अध्ययनका लागि निजी मेडिकल कलेजमा सिट निर्धारण र विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउने निर्णय लियो । आयोगका पदाधिकारीहरूका अनुसार मेडिकल कलेज सञ्चालकहरू प्रतिबद्धता जनाउन तयार भएनन् ।
गत भदौ पहिलो साता आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा सिट निर्धारणका लागि ‘सेल्फ अप्राइजल फाराम’ भर्न आह्वान गर्यो । तर मेडिकल कलेजहरूले फाराम नै बुझाएनन् । सरकारी र निजीमा करिब ११ सय सिटमा पीजीको पढाइ हुँदै आएको छ । ११ सयमध्ये करिब ७ सय सिटमा निजी मेडिकल कलेजले पढाउँदै आएका छन् ।
प्रधानमन्त्री ओलीको निर्देशनपछि आयोग आफ्नो अडानबाट पछि हट्यो । चिकित्सकहरूले भने सहमतिअनुसार निर्वाह भत्ता नदिए आन्दोलन गने चेतावनी दिएपछि उक्त विवाद चिकित्सा शिक्षा आयोगको बैठकमा प्रवेश गर्यो । आयोगको गत मंसिर ९ गते बसेको बैठकमा निजी मेडिकल कलेजले प्रदान गर्ने निर्वाह भत्ता सम्बन्धी विवाद भएपछि समाधान गर्न प्रधानमन्त्री ओलीले दुई मन्त्रीलाई जिम्मेवारी तोकेका थिए ।
हाल निजी मेडिकल कलेजलाई चिकित्सकलाई मासिक १९ हजार देखि २४ हजारसम्म निर्वाह भत्ता दिँदै आएका छन् । निजी मेडिकल कलेजमा दुई वर्ष सेवा गर्ने सर्तमा निःशुल्क अध्ययन गर्ने व्यवस्था चाहिँ नयाँ प्रस्ताव गरिएको हो । विवाद बढ्दै जाँदा निजी मेडिकल कलेज सञ्चालकहरूले नै अध्ययन पूरा गरेपछि सरकारीमा जस्तै दुई वर्ष सेवा गर्ने सर्तमा निःशुल्क अध्यापन गराउन सकिने प्रस्ताव गरेका थिए । त्यसमा आवासीय चिकित्सकहरू भने सन्तुष्ट छैनन् । सरकारी अस्पतालमै यस सम्बन्धी स्पष्ट व्यवस्था नभएको र निजीमा कानुनको अभाव रहेको उनीहरूको भनाई छ । ४८ हजार निर्वाह भत्ता नदिए आन्दोलन गर्ने चेतावनी यसअघि नै उनीहरूले दिँदै आएका छन् ।
लामो समयदेखि जारी यो विवादबीच आइतबार शिक्षा मन्त्रालयको भएको बैठकले निजी मेडिकल कलेजले सशुल्क स्नातकोत्तर अध्ययन गर्ने आवासीय (रेसिडेन्ट) चिकित्सकलाई मासिक न्यूनतम २५ हजार निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गर्यो । उक्त निर्णयमा आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० र तेस्रो वर्ष ३५ हजार भत्ता उपलब्ध गराउनुपर्ने उल्लेख छ । सरोकारवालासँगको राय, परामर्शपछि उक्त निर्णयमा पुगेको मन्त्री पौडेल र भट्टराईले बताएका छन् ।
त्यस्तै निजीमा निःशुल्क स्नातकोत्तर पढ्न चाहने चिकित्सकले पढाई पूरा गरेपछि दुई वर्ष काम गर्ने कबुलियतनामा गर्न सक्नेछन् । दुई वर्ष काम गर्ने सर्तमा भर्ना हुने चिकित्सकले भने सरकारी सो सरह मासिक ४८ हजार निर्वाह भत्ता पाउनेछन् । ‘निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययन पश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन सरकारले आवश्यक कानुनी प्रबन्ध गर्ने’ दुई मन्त्रीले हस्ताक्षर गरेको निर्णयमा भनिएको छ ।
त्यस्तै आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजले विश्वविद्यालय र मेडिकल काउन्सिल एवं प्रचलित श्रम सम्बन्धी कानुन बमोजिम मर्यादित सुविधा उपलब्ध गराउनुपर्ने निर्णय समेत भएको छ । यी ३ वटा निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखेर पठाउने भनिएको छ । उक्त निर्णय आगामी शैक्षिक वर्ष २०८१/०८२ को ब्याच देखि लागु गर्ने भनिएको छ । मन्त्री भट्टराईले निर्णय कार्यान्वयनका लागि यस सम्बन्धित ऐन नै संशोधन गर्नुपर्ने बताइन । ऐन संशोधन गरेर कार्यान्वयनमा जाने उनको भनाइ छ ।
सरकारले गठन गरेको विज्ञ सम्मिलित कार्यदलले दिएको सुझाव सरकारले बेवास्ता गरेको भन्दै आवासीय चिकित्सक भने रुष्ट छन् । स्वास्थ्य मन्त्रालयका सचिव टङ्कप्रसाद बराकोटी संयोजकको कार्यदलले पुस अन्तिम साता स्वास्थ्यमन्त्री पौडेललाई सुझाव प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई सरकारीसरह तलब भत्ता दिनसमेत सिफारिस गरेको छ । इन्टर्न चिकित्सकलाई आठौँ तहको मेडिकल अधिकृतले पाउने तलबको ५० प्रतिशत र आवासीय चिकित्सकलाई आठौँ तहको पूरा तलब पाउने व्यवस्था गर्नुपर्ने सुझाव समितिको छ । आठौँ तहको मासिक तलब ४८ हजार ७ सय ३७ रुपैयाँ रहेको छ ।
निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई मासिक १८ देखि २४ हजार, इन्टर्न चिकित्सकलाई १० हजारदेखि साढे १३ हजार निर्वाह भत्ता दिने गरेको समितिले जनाएको छ । तोकिएको तबल सुविधा नदिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने भनिएको छ । चिकित्सा शिक्षाको स्नातकोत्तर तहलाई निःशुल्क बनाउनसमेत समितिले सरकारलाई सुझाव दिएको छ । एमडी, एमएस, एमडीएस, डीएम, एमसीएच अध्यययन गर्ने प्रशिक्षार्थीले पूर्णकालीन चिकित्सक सेवा दिने भएकाले अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि अध्ययन शुल्क लिन नमिल्ने औँल्याइएको छ ।
एमडी, एमएस अध्ययनरत आवासीय चिकित्सक र एमबीबीएस/बीडीएस अध्ययन पूरा गरेका इन्टर्न चिकित्सकलाई २४ घण्टाभन्दा लामो समय ड्युटीमा लगाउन नपाइने व्यवस्था गर्न सुझाव दिइएको छ । अहिले ४० घण्टासम्म ड्युटीमा लगाउँदा चिकित्सक र बिरामीको स्वास्थ्यमा समेत गम्भीर असर पुग्ने गरेको प्रतिवेदनमा उल्लेख छ । सातामा दुई पटक मात्र २४ घण्टे ड्युटी मात्र लगाउने र साप्ताहिक बिदा दिनुपर्ने व्यवस्था गर्न प्रतिवेदनले भनेको छ ।
हाल ४० घण्टा लामो ड्युटी महिनाको १५ पटकसम्म तोक्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । आवासीय र इन्टर्न डाक्टरलाई ९८ दिन प्रसूति र १५ दिन प्रसूति सुधार बिदा दिनसमेत आग्रह गरिएको छ । निजी मेडिकल कलेजले २०७२ देखि २०७४ सम्म लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, स्वास्थ्य क्षेत्रमा राज्यले बजेटको कम्तीमा १० प्रतिशत लगानी गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थामा दरबन्दी पुनरावलोकन गर्न चिकित्सक सेवा ऐन ल्याउनुपर्ने सुझाव पनि समितिले सरकारलाई दिएको छ ।
सरकारले नै गठन गरेको विज्ञ समितिले दिएको सुझाव, चिकित्सा शिक्षा आयोगले नै विगतमा चालेको कदम र लामो समयदेखि आन्दोलनरत सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको मागलाई बेवास्ता गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्रीको आदेशमा गरेको निर्णयले केही शङ्का भने पक्कै उब्जाएको छ ।
