विराटनगर — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कोशी प्रदेशको राजधानी विराटनगर ओर्लिइन् । लगत्तै उनले बिग होटलमा पत्रकार सम्मेलन आयोजना गरेर आफू राजनीतिमा आउन सक्ने संकेत गरिन् ।
त्यो घोषणालगत्तै उनले मोरङ एमालेका नेता/कार्यकर्तासँगको भेटघाटलाई तीव्र पारिन् । बिग होटलमै बसेकी उनले एमालेका असन्तुष्ट कार्यकर्तादेखि अध्यक्ष ओलीवाट विश्वास आर्जन गर्न नसकेका नेतासँग छलफल र संवाद गरेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा पुनः सक्रिय हुने संकेतसहित कोशी प्रदेशको राजधानी विराटनगरमा आफ्ना गतिविधिहरूलाई तीव्र बनाएकी हुन् । उनका पछिल्ला कार्यक्रमहरूले उनको राजनीतिक सक्रियता मात्र होइन, मोरङ जिल्लामा एमालेका असन्तुष्ट कार्यकर्तासँगको समन्वयलाई पनि प्राथमिकता दिएको देखिन्छ । उनको यो भ्रमणमा विभिन्न सामाजिक गतिविधिहरूलाई प्राथमिकतामा राखेको देखिन्छ । वक्तृत्वकलादेखि विद्यालय भवन उद्घाटनसम्मका गतिविधिमा उनी केन्द्रित भएकी छन् । मंगलबार सुनसरीको इटहरीस्थित जनता माविको नयाँ भवन उद्घाटन गरिन् ।
बुधबार धरानको इन्जिनियरिङ क्याम्पस र मोरङको बूढीगंगा गाउँपालिकामा ‘चुडाकवि फाउन्डेसन’ले आयोजना गर्ने जिल्ला स्तरीय वादविवाद प्रतियोगिताको प्रमुख अतिथि बन्दैछिन् । सोही दिन बूढीगंगास्थित हात्तीमुढाको मनमोहन प्राविधिक विश्वविद्यालयको अवलोकन गर्ने कार्यक्रम पनि तय भएको प्रहरी श्रोतले जनाएको छ । माघ १८ गते उनी विराटनगर महानगर नजिकैको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।
