काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका दुई छिमेकी भारत र चीनसँग आशंकारहित सम्बन्ध सुदृढ गर्दै लगिने बताएका छन् । एमाले संसदीय दलको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारको विदेश सम्बन्धबारे धारणा राखेका हुन् ।
सरकारले दुवै छिमेकीसँग सन्तुलित र मित्रतापूर्ण सम्बन्ध चाहेको प्रधानमन्त्रीको भनाइ थियो । 'हाम्रो छिमेक सम्बन्ध दुवै छिमेकीसँग साच्चैको सन्तुलित, साच्चैको मित्रतापूर्ण, आशंकारहित र पारस्परिक सम्मान, पारिस्परिक लाभको आधारमा मैत्री सम्बन्धदलाई सुदृढ गर्दै लगिनेछ,' उनले भने, 'पारस्परिक लाभको आधारमा र हाम्रा दुईवटा विशाल छिमेकीहरू, हामीभन्दा विकासको मामिलामा अगाडि छन् । हरेक कोणबाट अगाडि पुगिराख्या छन्, यस्तो अवस्थामा ती विकासबाट हामीले सिक्ने देखि लिएर त्यसको लाभ विभिन्न ढंगले लिने कुराहरूमा पनि हामी सजग रहनेछौं ।'
सरकारले छिमेक सम्बन्धलाई विशेष प्राथमिकताका साथि अगाडि बढाउने पनि प्रधानमन्त्री ओलीले बताए ।सरकार अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि स्पष्टसँग आफ्ना धारणा राख्ने प्रधानमन्त्री ओलीले बताए । 'अन्तर्राष्ट्रिय फोरमहरूमा हामी देखिने गरी, बुझिने गरी, हाम्रा आन्तरिक विकासका चाहना, शान्तिका प्रयास लगायतका कुरा गर्नेछौं,' प्रधानमन्त्री ओलीले भने, 'अन्तर्राष्ट्रिय क्षेत्र, विश्वसस्तरमा पनि हामी आफ्ना दृष्टिकोण प्रस्तुत गर्नेछौं । हाम्रा दृष्टिकोण विश्वशान्तिको पक्षमा हुनेछन्, निसस्त्रिकरणको पक्षमा हुनेछन् । अन्तर्राष्ट्रिय न्यायको पक्षमा, साझा विकास, उन्नतिको अवधारणा अन्तर्गत हुनेछन् ।'
नेपालले सबै देशहरूसँग मित्रतापूर्ण सम्बन्ध राख्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले सबै मित्र, कोही छैनन् शत्रु भन्ने मान्यताका आधारमा सरकार अगाडि बढ्ने बताए । 'हामी कतै विवाद भएमा विवादको निरुपण शान्तिपूर्ण संवादको माध्यमबाट हुनुपर्छ भन्ने ठान्छौं । जहाँ बेठिक भइरहेको छ, ती ठाउँहरूलाई हामीले ठीक बनाउनका लागि आफ्ना प्रयासहरू पनि अगाडि बढाउनेछौं र हाम्रा दृष्टिकोणहरू पनि अगाडि बढडाउनेछौं,' उनले भने, 'हामी मानवताको पक्षमा छौं, मानवतावादको पक्षमा छौं । हामी शान्तिपको पक्षमा छौं ।'
त्यस्तै, सरकार नेपालमा निरपेक्ष गरिबीलाई शून्यमा झार्नका लागि योजनाका साथ अगाडि बढ्ने पनि प्रधानमन्त्री ओलीको भनाइ थियो ।
