टिप्पणी : सत्ता सहजताका लागि बदलिएको ओली रणनीति

कुर्सीमा ओलीसँगै देउवा

माघ १५, २०८१

किशोर दहाल

Comment: Oli's strategy changed for ease of power

काठमाडौँ — सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा अन्य सबै विषय नियमित र स्वाभाविक थियो, बाहेक प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बस्ने कुर्सीको व्यवस्थापन ।

सामान्यतया यस्ता बैठकमा प्रधानमन्त्री अलग्गै कुर्सीमा बस्छन् । बैठकमा सहभागी बाँकी नेताहरू बैठक कक्षको दुई छेउको कुर्सीमा आ–आफ्ना पदीय हैसियतअनुसार नजिक वा टाढा बस्छन् । सोमबारको बैठकमा अन्य नेताको हकमा परम्परागत ढंगले नै बसाइको व्यवस्थापन मिलाइएको थियो । ओली र देउवाले भने एउटै टेबल ‘सेयर’ गरेका थिए । ओलीलाई उनी बसेको कुर्सीले मात्रै ‘एक तहमाथिका’ विशिष्ट व्यक्तिको रूपमा पहिचान दिएको थियो ।

आजका प्रधानमन्त्री ओली तिनै व्यक्ति हुन्, जो यसअघि प्रधानमन्त्री हुँदा कुर्सी व्यवस्थापनकै कारण आलोचित हुने गरेका थिए । पार्टीको बैठकमा मात्रै होइन, सार्वजनिक कार्यक्रममा पनि उनको कुर्सी व्यवस्थापनलाई लिएर आलोचना हुने गरेको थियो । त्यसको एउटा सन्दर्भ हो– २०७६ असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा काठमाडौंको कोटेश्वरमा आयोजित कार्यक्रम ।

त्यतिबेला पनि प्रधानमन्त्री रहेका ओली आफ्ना केही मन्त्रीसहित त्यस कार्यक्रममा पुगेका थिए । कार्यक्रममै सहभागी थिए– शताब्दी पुरुष सत्यमोहन जोशी पनि । अन्य सबै विषय नियमित र स्वाभाविक भए पनि त्यहाँको कुर्सी (सोफा) व्यवस्थापन नमिल्दो देखिन्थ्यो । किनकि, जोशीजस्ता व्यक्ति पछिल्लो लहरमा सामान्य कुर्सीमा बसेका थिए, सबैभन्दा अगाडि ओली भव्य सोफामा विराजमान थिए । त्यतिबेला ओलीको अभिमान अभिव्यक्त भएको आलोचना भएको थियो ।

एमाले र माओवादी केन्द्रबीच एकता भएर गठन भएको नेकपाको आन्तरिक बैठकमा ओलीको कुर्सी व्यवस्थापन कुनै समय ‘मूल मुद्दा’ जस्तै बनेको थियो । जसलाई अन्य नेता र स्वयं ओलीले पनि तत्कालीन समयमा चर्चा र प्रतिवाद गरेका थिए ।

तर यतिबेला उनै ओलीले फरक व्यवहार देखाएका छन् । उनले देउवालाई ‘समान हैसियत’का नेताको रूपमा प्रस्तुत गर्ने ढंगले कुर्सी व्यवस्थापन गरेका/गराएका छन् । यसको कारण के हुन सक्छ ?

नेकपा विवादबाट सिकेको पाठ

तत्कालीन नेकपाभित्रको विवादका अनेकौं कारण र विषय थिए । त्यसमै पर्छ, कुर्सीको ढाँचा र व्यवस्थापन । नौ सदस्यीय सचिवालयको बैठकमा सामान्यतयाः प्रधानमन्त्री तथा अध्यक्ष ओली अन्य सदस्यभन्दा अलि पर सोफामा बस्ने गर्थे । सचिवालयका अन्य सदस्यहरूको अघिल्तिर अर्का अध्यक्ष पुष्पकमल दाहाल बस्थे । यदाकदा दुई नेताबीच निकटता आउँदा वा ओलीले मनस्थिति परिवर्तन गर्दा दाहाल पनि उनी नजिकै बस्न पाउँथे ।

आफू समान अध्यक्ष भए पनि ओलीले कुर्सी व्यवस्थापनमा मनोमानी गरेकामा दाहालमा रहेको चित्तदुखाइ पार्टी विभाजनतर्फ अघि बढेपछि मात्रै सार्वजनिक हुन थाल्यो । उनले नेकपाकालमा आफूलाई अन्य नेताले कुर्सी लगेर ओलीनजिकै राख्न सुझाव दिए पनि आफूले त्यसो नगरेको बरु अन्य उनीहरूसँगै बस्दा रमाएको प्रसंग आफ्ना भाषणमा दोहोर्‍याउने गरेका थिए ।

औपचारिक रूपमा तत्कालीन नेकपा एउटा पार्टीका रूपमा थियो, अनौपचारिक रूपमा सत्तारुढ गठबन्धनजस्तो पनि थियो । जुन पार्टी/गठबन्धन ओलीले टिकाउन सकेनन् । परिणामतः इतिहासकै शक्तिशाली प्रधानमन्त्रीबाट साढे तीन वर्षमै बाहिरिनुपर्‍यो ।Comment: Oli's strategy changed for ease of power

यतिबेला देउवालाई विशेष स्थान दिनुमा ओलीले तत्कालीन नेकपाभित्रको विवादबाट पाठ सिकेको अर्थमा बुझ्न सकिन्छ । मुख्यतः उनी गठबन्धनभित्र विवाद ननिम्तियोस् र आफ्नो पद लम्बियोस् भन्नेमा सचेत रहेको देखिन्छ ।

देउवालाई खुसी राख्नुपर्ने बाध्यता

ओली नेतृत्वको पार्टी नेकपा एमाले प्रतिनिधि सभाको दोस्रो ठूलो दल हो, पहिलो कांग्रेस नै हो । उही कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेकाले ओलीको पद कांग्रेसले हात थामेको दिनसम्म मात्रै रहने निश्चित छ । त्यसैले कांग्रेससँग सहज सम्बन्ध कायम राख्नुपर्ने उनको बाध्यता छ ।

कांग्रेसभित्र भने फरक वातावरण छ । शेखर कोइरालालगायत संस्थापनइतरका कैयौं नेताहरू प्रधानमन्त्री ओलीको निर्णय र कार्यशैलीप्रति असहमति राख्छन् । उनीहरूको सार्वजनिक टिप्पणीले ओली सरकारको आयुमा खासै फरक त पर्दैन । तर, गठबन्धनका प्रधानमन्त्रीका निम्ति त्यस्तो परिस्थिति अरुचिकर हुन्छ नै । ओलीलाई पनि भइरहेकै छ ।

कांग्रेसका अन्य नेताहरूको असन्तुष्टिलाई प्रभावहीन बनाउने उपाय भनेको देउवाको अझै दृढ साथ लिन सक्नु नै हो । किनकि, अहिले कांग्रेसमा देउवाले चाहेको भन्दा फरक परिस्थिति निर्माण भइहाल्ने अवस्था छैन ।

देउवाको बलियो साथ लिन र उनलाई खुसी बनाउन ओलीले सार्वजनिक कार्यक्रमबाटै सरकार सञ्चालनमा कांग्रेस, खासगरी देउवाले गरेको सहयोगको प्रशंसा गर्दै आएका छन् । उनले देउवाले दायाँबायाँ नसोचून् अर्थात् अहिलेको गठबन्धनको विकल्प नसोचून् भनेर नै आफ्नो प्रधानमन्त्रीको अवधि तोक्दै हिँडेका छन् र त्यसपछि देउवा नै प्रधानमन्त्री बन्ने बताइरहेका छन् ।

सोमबारको कुर्सी व्यवस्थापन देउवालाई खुसी पार्ने उच्च तहको प्रयत्न हो । त्यो प्रयत्नको अन्तर्यमा आफ्नो कुर्सीमा कुनै खतरा नआओस् भन्ने रणनीति लुकेको छ ।

पेलेरै अघि बढ्ने छवि बदल्ने प्रयास

विपक्षीप्रति त ओली जहिल्यै कठोर सुनिन्छन् । विपक्षी रहेकै बेलामा उनले कांग्रेसप्रति नै अनेकौं कठोर शब्द प्रयोग गरेका छन्, जसरी अहिले माओवादी केन्द्र तथा एकीकृत समाजवादीप्रति प्रयोग गर्छन् ।

ओलीको अर्को स्वभाव भनेको उनी आफूसँगै सहकार्य गरिरहेको शक्तिप्रति पनि अनावश्यक ‘शक्ति प्रयोग’ गरिरहन्छन् । कुनै न कुनै ढंगले निकट र सहकार्यमै रहेको शक्तिलाई पनि दबाएर राख्ने र आफूलाई विशिष्ट नेताको रूपमा प्रस्तुत गर्ने उनको स्वभाव छ । यसैकारण प्रधानमन्त्रीको कुर्सीबाट उनको दबदबा प्रवाह हुने गरेको थियो ।

एउटै गठबन्धनमा हुँदा समेत ओलीले अप्ठ्यारोमा पारेको, हेपेको र एकलौटी गरेको अनुभव यसअघिका साझेदारहरूले सार्वजनिक रूपमा बोलेका छन् ।

यसपटक भने ओलीसँग यसअघि जस्तो चर्को अभिमान देखिँदैन । ओली आफ्ना विपक्षीप्रति कठोर त सुनिन्छन् तर प्रधानमन्त्रीका रूपमा यसअघि जस्तो दबादबा भने देखिँदैन । यसलाई उनको स्वभावमै आएको परिवर्तन मान्न त कठिन छ । यद्यपि, आफूलाई उदार देखाएरै सत्ता लम्ब्याउन सकिन्छ भन्ने बोध गरेका वा त्यस किसिमको रणनीति अख्तियार गर्न थालेका हुन सक्छन् । 

त्यही उदारताको एउटा सन्दर्भ सोमबारको कुर्सी व्यवस्थापनलाई लिन सकिन्छ । यसबाटै देउवाको मन जित्न सकिने र उनको बलियो साथ निरन्तर रहने ओलीको बुझाइ हुन सक्छ ।

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully