काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरू साझा धारणा बनाएर संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने बताएका छन् ।
मंगलबार समाजवादी मोर्चाको विचार सभालाई सम्बोधन गर्दै सरकार अध्यादेशको बाटोबाट निरंकुशतातर्फ अघि बढ्न खोजेको आरोप लगाउँदै उनले विपक्षीहरूको दबाबले मात्र संसद् अधिवेशन बोलाएको बताए ।
‘सदन बोलाइएन भने विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौं भनेपछि सदन बोलाइएको छ,’ उनले भने, ‘सदन बस्नुअघि विपक्षी दलको बैठक बसेर सामूहिक रूपमा प्रस्तुत हुनेबारे निर्णय गर्छौं ।’
उनले सरकारले सुशासनलाई कमजोर बनाउने, अर्थतन्त्र धराशयी गराउने काम गरी जनविरोधी कदम चालेको आरोप लगाए । ‘सरकारले भ्रष्टाचारीलाई बचाउने काम गरेको छ । जतिसुकै अपराध गरे पनि आफ्नालाई चोख्याउने काम गरेको छ,’ उनको आरोप थियो, ‘विरोधीलाई राजनीतिक प्रतिशोध साँध्ने काम गरेको छ ।’
उनले समाजवादी मोर्चा वामपन्थी एकताकै लागि भएको पनि बताए । ‘हामीले नेकपा गठन गरेकै हो । पर्याप्त तयारी नहुँदा झन् निराश बनायो,’ उनले भने, 'अब समाजवादी मोर्चालाई सुदृढ गर्दै लैजाने हो । माओवादी केन्द्र ध्रुवीकरणको पक्षमा गम्भीर छैन भन्ने सत्य होइन । हतार गरेर गर्नु हुँदैन । हतारोले दुर्घटना निम्त्याउँछ । तर त्यसका नाममा कछुवा गति पनि गर्नुहुँदैन ।’
उनले एकताको उद्देश्य राखेर मोर्चा अघि बढ्ने बताए । ‘एकता र ध्रुवीकरणको तयारी गर्नुपर्छ । देशमा बेथिति, प्रतिगनमविरुद्ध नेतृत्व लिन सुरु गर्नुपर्छ,’ उनले भने, ‘देशमा अग्रगामी राजनीतिको विकल्प दिने मोर्चाको प्रयास हो ।’
