काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार (सत्तारुढ गठबन्धन) २०८४ को प्रतिनिधिसभा निर्वाचनसम्म जाने बताएका छन् । एमाले संसदीय दलको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकार ढल्ने भनेर दिनदिनै भाका गर्ने र सार्ने काम भइरहेकोमा असन्तुष्टि जनाउँदै ०८४ मंसिरसम्म वर्तमान सरकार रहने बताए ।
दिनैपिच्छे सरकार ढल्ने कुरा भइरहेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका हुन् । '२०८४ मंसिरमा सरकार परिवर्तन हुन्छ । २०८४ मंसिरको चुनावपछि के परिणाम आउँछ त्यसअनुसार सरकार बन्छ,' उनले भने ।
प्रधानमन्त्री ओलीले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य हुने बताए । उनले संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक अभ्यासमार्फत नै परिवर्तन हुने र अराजकताका कुनै प्रकारका बाटाहरूबाट परिवर्तनको अपेक्षा स्वीकार्य नहुने स्पष्ट पारे । अहिले देशको राष्ट्रिय राजनीति संविधान र लोकतान्त्रिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रुपमा अगाडि बढिरहेको उनको भनाइ थियो । नेपालमा श्रीलंका, बंगलादेशको जस्तो अवस्था नबन्ने पनि उनले बताए ।
‘राष्ट्रिय राजनीति एउटा ट्र्याकमा गएको छ । राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक सिस्टममा, शान्तिपूर्ण राजनीतिको मूलधारमा, संवैधानिक राजनीतिको मूलधारमा, लोकतान्त्रिक प्रणालीको मूलधारमा अगाडि बढेको छ । यसर्थ हामी यिनै दृष्टिकोणअनुसार सफलतापूर्वक अगाडि बढेका छौं,' प्रधानमन्त्री ओलीले भने ।
