माओवादी अध्यक्ष दाहाल भन्छन् : हामी हिँड्दाहिँड्दै यो सरकार ढल्छ

माघ १४, २०८१

लक्ष्मी गौतम

Maoist Chairman Dahal says: This government will collapse as we walk

पाँचथर — नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकाको आयु लगभग पूरा भएको बताएका छन् । तेह्रथुमको आठराई गाउँपालिका-३ ह्वाकुमा निर्मित बगाले सहिद स्मृति पार्कको सोमबार उद्‍घाटनमा अध्यक्ष दाहालले सरकार छिट्टै ढल्ने बताएका हुन् । 

‘हामीले केही नगरे पनि यो सरकार ढल्छ, हामी हिँड्दा हिँड्दै ढल्छ, कसैले केही गर्नै पर्दैन,’ उनले भने, ‘हाम्रो नेतृत्वले राम्रो काम गर्न खोजिरहेको थियो तर दलाल पुँजीपतिहरूलाई बसिखानु भएन, प्रचण्डको नेतृत्व रहिरहे हामी माथि उठ्न सक्दैँनौ भन्ठानेर रातारात होटेल-होटेल धाएर गठबन्धन बनाए ।’ अध्यक्ष दाहालले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताउँदै आएका छन् । तर नयाँ सरकार कसको बन्छ भन्नेबारे भने उनले स्पष्ट केही भनेका छैनन् । 

माओवादी नेता वर्षमान पुनसहित तेह्रथुम आइपुगेका दाहाल मंगलबारसम्म यहीँ रहने भएका छन् । उनले सोमबार नै लालीगुराँस नगरपालिकामा निर्मित चोलुङ पार्कको भ्रमण र लसुनेमा निर्मित धनरुपा स्मृति पार्ककको उद्घाटन गरेका थिए । त्यसपछि आठराई आइपुगेका उनले बगाले सहिद स्मृति पार्कको उद्घाटन गरे ।

मंगलबार उनले चुहानडाँडामा निर्मित माओवादी नेता भक्तराज कन्दङवाको सालिक अनावरण पछि कार्यकर्ता भेलालाई सम्बोधन गरेर काठमाडौं फर्किने तालिका छ । दाहालले सोमबार सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका तेह्रथुमका सहिद परिवारका आफन्त र परिवारका सदस्यलाई सम्मान गरेका थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully