काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी बैठकले फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरूलाई रास्वपामा आबद्ध गर्न पनि सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिएको छ ।
कार्यवाहक महमन्त्री कविन्द्र बुर्लाकोटीले संसद्मा दुईतिहाइ बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा सम्पूर्ण व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुने अवस्था निम्तिनुमा वर्तमान गठबन्धनका दुई प्रमुख साझेदार दलले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष रास्वपाको रहेको बताए ।
‘विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्यअनुरुप कुनै पनि नतिजा नदेखिएको पृष्ठभूमिमा संसद्को आसन्न अधिवेशनको ३ हप्ताअघि हतारहतार हतास मनस्थितिमा काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण छ,' उनले भने, 'ती अध्यादेशका अन्तर्वस्तुगत सारमाथि रास्वपाका सांसदहरुले गुण–दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको छ ।’
आजको बैठकले केन्द्रीय सदस्य कामिनी चौधरीलाई केन्द्रीय संगठन विभाग सदस्यमा मनोनयन गरेको छ । त्यस्तै प्रदेश समितिमा रिक्त पदाधिकारी तथा सदस्य पदपूर्तिका लागि सो सम्बन्धी कार्यविधि बमोजिम गर्न गराउन केन्द्रिय संगठन विभागलाई सहजीकरणका लागि निर्देशन दिएको छ ।
