मेयर हर्क साम्पाङसहित प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाही गर्न पत्रकार महासंघको माग

माघ १४, २०८१

कान्तिपुर संवाददाता

The Federation of Journalists demands action against those involved in the violation of press freedom, including Mayor Hark Sampang

काठमाडौँ — नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृहमन्त्री रमेश लेखकलाई सोमबार मन्त्रालयमा भेटी यस्तो माग गरेको हो ।

पत्रमा सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने धम्की दिने र थप समाचार लेख्नै नदिनेसम्मका हर्कत गर्नेविरुद्ध राज्यले कुनै कारबाही नगर्नुले राज्यको प्रेस स्वतन्त्रताप्रतिको दुष्टिकोणमै प्रश्न उठिरहेको उल्लेख छ ।

‘महासंघले दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिसनले तयार पारेको प्रतिवेदनले दोषी औंल्याएका जो कोहीलाई तत्काल कानुनी कठघरामा उभ्याएर प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतालाई व्यहारमा उतार्न आवश्यक कदम चालिदिनु हुन महासंघ माननीय गृहमन्त्रीसमक्ष अनुरोध गर्दछ,’ महासंघका महासचिव रामप्रसाद दाहालद्धारा हस्ताक्षरित पत्रमा माग गरिएको छ ।

सो प्रतिवेदनमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ । यस्तै नगर प्रमुख साम्पाङले नगर प्रमुखको कार्यभार सम्हालेलगत्तै उनले सुरु गरेको श्रमदानको अभियानलाई सकारात्मक मान्न सकिए पनि धरानको विकासका लागि श्रमदानमार्फत संकलन गरेको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी निजी खातामा राखेर आफूखुसी निकासा गरेको समाचारको विषय बनेको मात्र होइन स्थानीय सरकारको आर्थिक कारोबारमा पारदर्शिताको गम्भीर प्रश्न उठेकाले यसबारे राज्य संयन्त्रले छानबिन गर्नुपर्ने मिसनको प्रतिवेदनले औंल्याएको छ ।

महासंघको पत्रमा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ । पत्र बुझेसँगै गृहमन्त्री लेखकले महासंघको मागप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दे प्रेस स्वतन्त्रता हननमा संलग्नलाई राज्यले कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully