काठमाडौँ — उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुनहरूको प्रभावकारी कार्यान्वयन गरेर बस्तीहरूलाई सुरक्षित बनाउनुपर्ने बताएका छन् । उनले आगामी दिनमा बन्ने सबै संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्ने पनि बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले निर्माण भएका कानुनको प्रभावकारी कार्यान्वयन र कानुनी जटिलतालाई सहज बनाउन त्यसमा आवश्यक हेरफेर, आवश्यक नयाँ योजना तथा नीति तर्जुमा गरेर बस्तीहरूलाई सुरक्षित राख्नुपर्ने बताए ।
नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको उपप्रधानमन्त्री सिंहले बताए । विपद्का घटनाहरूबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज, उद्धारको अवस्थामा सुधार गर्नु आवश्यक रहेको उनले बताए ।
सिंहले इतिहासबाट पाठ सिक्दै अब बन्ने घर तथा भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउनुपर्ने धारणा राखे । ‘हाम्रो मुलुक बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका प्रकोपहरुबाट बारम्बार प्रभावित हुने गरेको छ । भूकम्पका कारण हुने जनधनको क्षति कम गर्ने राष्ट्रिय भवन संहिता पालना गर्नु अपरिहार्य छ । बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज उद्धारको अवस्थामा सुधार गर्नु आवश्यक छ,' सिंहले बताए, 'भूकम्पीय जोखिम न्युनीकरणका लागि भूकम्प प्रतिरोधी थेग्न नसकेरै हाम्रो घर एवं भौतिक संरचना भूकम्पमा ढले र हामीले अथाह जनधनको क्षति व्यहोर्नुपर्यो । इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचना भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता हो ।'
भौतिक संरचना निर्माणमा कानुनी पर्याप्तताबारे पनि ध्यान दिनुपर्ने सिंहको भनाइ थियो । मौजुदा कानुनको प्रभावकारी कार्यान्वयन र नयाँ कानुन निर्माणमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो । 'राष्ट्रिय भवन संहिताको पूर्ण परिपालना र जोखिमप्रति संवेदनशील भूउपयोगको योजनाको कार्यान्वयनमा हामी सबैको हातेमालो जरुरी छ । जोखिम न्यूनीकरणका सम्बन्धमा भवन लगायत भौतिक संरचना सुरक्षित तवरले निर्माण गर्नको लागि जनचेतना फैलाउनु पनि उत्तिकै आवश्यक छ । निर्माण भएका कानुनको प्रभावकारी कार्यान्वयन र कानुनी जटिलतालाई सहज बनाउन त्यसमा आवश्यक हेरफेर, आवश्यक नयाँ योजना तथा नीति तर्जुमा गरेर हामीले हाम्रो बस्तीहरूलाई सुरक्षित राख्नुपर्दछ,’ उनले भने ।
उपप्रधानमन्त्री सिंहले प्राकृतिक प्रकोप र विपद्ले भौगोलिक सीमा नभन्ने भन्दै सबैको सहकार्य र सहयोग जरुरी रहेको बताए ।
