जनताको सुझाव मान्नुपर्छ भन्ने महसुस भएको हो भने कहीं न कहीं सकारात्मक प्रभाव पार्छ : कृष्ण पोखरेल, राजनीतिशास्त्रका प्राध्यापक
काठमाडौँ — प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपत्यकाबाहिर जहाँ जान्छन्, त्यहाँ ‘बिहानी हिँडाइ’ (मर्निङवाक) गर्छन् । उनले जिल्ला भ्रमणका क्रममा ‘मर्निङवाक’लाई राजनीतिक कार्यक्रमसँग जोड्दै आएका छन् ।
बिहानी हिँडाइमा निस्किएका सर्वसाधारणसँग भलाकुसारी गर्दै उनले चिया पिउँछन् । बिहानी हिडाइँ, चियापानलाई उनले स्थानीय सम्बन्धको रूपमा लिएका छन् । पुस २३ मा केन्द्रीय समिति बैठक समापन गर्दै उनले आफू जनतातिर फर्किन लागेको उल्लेख गर्दै अरू नेताहरूलाई पनि त्यही गर्न निर्देशन दिएका थिए । त्यसपछि उनी जिल्ला दौडाहामा हुँदा सर्वसाधारणसँग अनौपचारिक अन्तर्क्रिया गर्न थालेका हुन् ।
दाहालले पछिल्ला हरेक भेटघाटमा धैर्यतापूर्वक आलोचना सुन्दै ‘सच्चिने अभियान सुरु गरेको’ बताउने गरेका छन् । उनले जिल्ला दौडाहामा एमाले अध्यक्ष केपी ओली सरकारको आलोचनामा समय खर्चिएका छन् । अघिल्लो आफ्नो नेतृत्वको सरकारले राम्रा काम गरेकाले विस्थापित गरेको दाबी पनि गर्दै आएका छन् ।
उनी यसरी जिल्ला जाँदा माओवादीको राजनीतिमा के प्रभाव पर्छ त ? राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल भन्छन्, ‘जनताको सुझाव मान्नुपर्छ भन्ने महसुस भएको हो भने कहीं न कहीं सकारात्मक प्रभाव पार्छ ।’
शीर्ष नेता सिधै जनताको घरदैलोमा जाँदा सहज पहुँच पुग्ने भएकाले सर्वसाधारणले गुनासो राख्न पाउने उनले बताए । ‘प्रचण्ड सिधै जनताको घरमा जाँदा पुरानो टुटेको कडी जोडिन्छ,’ उनले भने, ‘सर्वसाधारणका गुनासा, सुझाव, सल्लाहले आफ्नो नीति परिमार्जन गर्न पनि काम गर्छ । कार्यशैली परिवर्तन र नीति परिवर्तन गर्न मद्दत पुग्छ ।’
यस्तो छ दाहालको जिल्ला दौडाहा
माघ १ : सुकुटे, सिन्धुपाल्चोक, माघ ३ : माडी, चितवन
माघ ५ : विराटनगर, मोरङ, माघ ७ : गोरखा सदरमुकाम गोरखाबजार
माघ ८ : चितवन, भरतपुर, माघ १० : सुर्खेत, वीरेन्द्रनगर
माघ ११ : दाङ, तुलसीपुर, माघ १२ : घोराही, दाङ, माघ १४ : तेह्रथुम, लसुने
सोमबार उनी नेपाली सेनाको हेलिकप्टरबाट उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम पुगे । तेह्रथुमको लसुनेमा सशस्त्र युद्धमा मारिएकी धनरूपा कार्कीको घरमा पुगेर उनले ‘माओवादी सहिद परिवार’सँगै खाना खाए । त्यहाँ उनले २०५८ माघ १४ मा तत्कालीन शाही सेनाबाट मारिएका २१ व्यक्तिको सम्झनामा निर्माण गरिएको प्रतिमामा माल्यार्पणसमेत गरे ।
उनले आर्थिक समृद्धिको पक्षमा आफ्नो दौडाहा भएको पनि त्यहाँ सुनाए । ‘भ्रष्टाचारका विरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भइरहेको छु,’ उनको भनाइ थियो । 
माओवादीले ६ महिने अभियान सुरु गर्नुअघि जिल्ला दौडाहामा निस्किएका दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको आलोचना मात्र गरेका छैनन्, विगतमा आफूले गल्ती गरेको बताउन पनि चुकेका छैनन् ।
माघ ११ मा दाङ तुलसीपुरको खबरदारी सभालाई सम्बोधन गर्दै आफ्ना वर्गलाई ख्याल नगर्नु, सरकारमा गएका बेला जनताको चाहनाअनुसार काम गर्न नसक्नु, नेता तथा कार्यशैली बिग्रिएकाले सच्याउने प्रतिबद्धता पनि उनले त्यहाँ व्यक्त गरे ।
‘हामीले हाम्रो गल्ती कमजोरी सच्याउँछौं,’ उनले आफ्नै ठानी ०८४ को निर्वाचनमा माया गर्न आग्रह गरे, ‘तपाईंहरूले पनि आफ्नै छोराछोरी त हुन् नि भनेर एकचोटि ०६४ जस्तै माया गरिदिनुभयो भने ०८४ मा बहुमतमा आउनेछौं । त्यो बहुमतले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने छ ।’
सभापछि तुलसीपुरमै रहेको उनले माओवादी युद्धमा मारिएका व्यक्तिका सन्तान पढिरहेको विद्यालमा गएर सामूहिक तस्बिर लिएका थिए । अर्को दिन माघ १२ मा माओवादी नेता एवं चर्चित पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा स्थापित बहुप्राविधिक शिक्षालयको अवलोकन गरे ।
जनादेश साप्ताहिकका सम्पादक सेनको २०५९ जेठमा प्रहरीको यातनाबाट हिरासतमा मृत्यु भएको थियो । त्यही दिन उनले घोराहीस्थिति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फदाधिकारीसँग अन्तर्त्रिया गरे । २०५८ मा मंसिरमा मारिएका लौटन चौधरीको घरको आँगनमा परिवारसँग खाना खाए । घोराहीमा उनले तेस्रो नगर सम्मेलनलाई सम्बोधन गरे ।
‘सुर्खेतबाट बाँके हुँदै दाङ पुगेको छु । सहिद तथा बेपत्ता परिवार र घाइते, अपांग योद्धाहरूसँगको साक्षात्कार यो भ्रमणको विशेषता रह्यो। बाँके खजुराको धवलागिरी, दाङ तुलसीपुरको बटोलपुर र घोराही झिगौरामा सहिद परिवारको घर–आँगनमा बसेर सहिद परिवारले नै तयार पारेको मौलिक परिकार परिवारजनसँग खाँदै उहाँहरूको दुःख पीडा सुन्ने र सहिद सन्ततिसँग भेट्घाट गर्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो,’ उनले आफ्नो अनुभव सुनाए, ‘विगतको गहिरो आत्मसमीक्षा गर्दै पुनः आफ्नै वर्गमा फर्कन पार्टीले लिएको संकल्पको यो व्यावहारिक थालनीको रूपमा लिएको छु ।’
गत महिना भएको स्थानीय तहको उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिका प्रमुखमा माओवादीले पहिलोपटक जित्यो । त्यसमा थप ऊर्जा थप्न उनी माघ ५ मा त्यहाँ पुगेर ओली सरकारविरुद्ध खबरदारीसभा गरे । त्यहाँ उनले वृद्धवृद्धालाई सम्मान गरेर मन जित्ने कोसिस गरे । त्यहाँ उनले ०८४ को स्थानीय तह निर्वाचनमा माओवादीले २ सय ५० पालिका जित्ने दाबीसमेत गरे ।
विराटनगर बस्दा उनले बिहानी हिँडाइका क्रममा स्थानीय महिलाले बनाएको भक्काको स्वाद चाखे । बिहानी हिँडाइका क्रममा लगाएको स्पाटर््स जुत्ताको चर्चा सामाजिक सञ्जालमा भएको थियो । उनले लगाएको जुत्ता महँगो विदेश कम्पनीको भएको भन्दै आलोचना पनि भएको थियो ।
विराटनगर पुगेका दाहालले गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको अनुगमन गरे । उनले यो रंगशाला छिटो निर्माण सक्न आग्रह गरे । उनले गिरिजाप्रसादलाई शान्ति प्रक्रिया अघि बढाउने सारथिका रूपमा व्याख्या गर्दै आएका छन् । त्यही क्रममा उनले ‘नेपालको पूर्वी क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्र सप्तकोसी र बराहक्षेत्र चतराबाट तपाईंहरू सबैलाई सम्झेको’ स्टाटस फेसबुकमा पोस्ट गरे ।
माघमा मात्र दाहाल आफ्नो गृहजिल्ला चिवनमा दुईपटक गइसकेका छन् । माघ ३ र ६ मा उनी चितवन पुगेर विभिन्न कार्यक्रममा सहभागी भएका थिए । 
माघ ३ मा माडी पुगेर बोटे समुदायको एक घरमा खाना खाएर भलाकुसारी गरे । माघ ७ मा चितवन हुँदै गोरखा सदरमुकाम गएर स्थानीयसँग भेटघाट, सरस्वती माविको स्वर्ण महोत्सव उद्घाटन, गोर्खा क्याम्पसको स्थलगत अनुगमन र जनज्योति माविको स्वर्ण महोत्सवमा सहभागी भए । गोरखाबाट चितवन फर्केका उनी माघ ८ मा भरतपुरबाट मर्निङवाक गर्दै देवघाटसम्म पुगेका थिए ।
माघे संक्रान्ति मनाउन दाहाल सिन्धुपाल्चोकको सुकुटे पुगे । भोटेकोसीको किनारामा रहेको रिसोर्टमा बसेर युवा नेतासँग अनौपचारिक भलाकुसारी गरे । ‘अब नेतृत्वमा युवालाई ल्याउन चाहेको’ बताउँदै वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री, प्रतिनिधिसभा सांसद माधव सापकोटालगायतलाई उत्साहित बनाए । त्यही दिन उनले बिच भलिबल उद्घाटन गरी बेलुका काठमाडौं फर्किए ।
यसकारण मर्निङवाक गर्छन् दाहाल
सुरक्षा जोखिमलाई पनि चुनौती दिंदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल जिल्ला दौडाहा गइरहेका बेला मर्निङवाक छुटाएका छैनन् । आखिर किन ? ‘जनतासँग जोडिने उद्देश्यले पार्टी अध्यक्षले मर्निङवाक गर्दै आउनु भएको छ,’ स्वकीय सचिव रमेश मल्लले भने ।
अध्यक्ष दाहालले मर्निङवाकलाई राजनीतिक अभियानकै रूपमा लिएको पनि उनले बताए । ‘यसबाट जनसम्बन्ध बढ्छ, जनताको अवस्था र मनोविज्ञान बुझ्न सकिन्छ भन्ने उहाँलाई लागेको छ,’ स्वकीय सचिव मल्लले भने । उनले पार्टीले सामाजिक सम्बन्ध विस्तारलाई प्रमुखतामा राखेकाले भुइँ तहका जनतासँग भेटघाट गरेको पनि बताए ।
‘आफैं जनतामा जाँदा खास कुरा बुझिन्छ । सामाजिक सम्बन्धका कुरा पनि हुन्छन् । यो एउटा सन्देश हो,’ उनले भने, ‘जनतासमक्ष जाने आफ्नो सक्रियता देखाउने अध्यक्षको अभियान हो ।’
प्रधानमन्त्री भएका बेला जिल्ला जाँदा ठूला होटलमा बस्दै आएका उनी प्रतिपक्षमा पुगेपछि भने सर्वसाधारणको घरमा खाना खाने, युद्धका सहिद परिवारसँग भेट्ने, गुनासा सुन्ने काम गर्दै आएका छन् ।
