बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Meeting of ruling parties continues in Baluwatar

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बसिरहेको हो । 

संघीय संसद्को आशन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता पक्षीय राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बसिरहेको हो । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहदुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतकसमेत सहभागी रहेका छन् ।

बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संसद्लाई पर्याप्त बिजनेस दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसदहरूको प्रभावकारी भूमिका आवश्यक पर्ने प्रधानमन्त्रीले बताएका थिए । 

संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ देखि सुरु हुँदैछ ।

कान्तिपुर

Link copied successfully