न्यायको प्रतीक्षामा सुप्रिम सहकारीका पीडित बचतकर्ता

लामिछानेका नाममा सहकारीबाट २ करोड रुपैयाँ गएको र उनी आफैंले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरेकाले सहकारी ठगीमा संलग्नताको पुष्टि हुने सरकारी तथा जाहरेवालाका वकिलहरूको दाबी

माघ १३, २०८१

कान्तिपुर संवाददाता

Victim savers of Supreme Cooperative Awaiting Justice

बुटवल — रूपन्देही जिल्ला अदालतमा अहिले भइरहेको बहसमा सामाजिक सञ्जालमा विभिन्न कोणबाट बहस भइरहेको छ । तर, दुःखजिलो गरेर जम्मा गरेको बचत डुबेपछि संकटमा परेका सर्वसाधारण भने दोषीलाई कारबाही हुने र आफ्नो बचत फिर्ता हुने सुनिश्चितताको प्रतीक्षामा छन् ।

सार्वजनिक शौचालय सफा गर्ने, झिसेमिसेदेखि चिया बेच्ने, राजमार्गमा बसका पछाडि–पछाडि दौडिँदै फलफूल बेच्ने सर्वसाधारणको बुटवलको सुप्रिम सहकारीमा जम्मा गरेको पसिनाको कमाइ तानेर गोर्खा मिडिया नेटवर्क सञ्चालन गरिएको थियो, निजी कम्पनीमा सारिएको पैसा कहिले र कसले फिर्ता गर्ने हो ? प्रश्न अनुत्तरित हुँदा करिब १० हजार बचतकर्ता अत्तालिएका छन् ।

बुटवल चौराहास्थित राजमार्गमा सार्वजनिक शौचालय सफा गर्ने सीता दर्जी, पूर्वपश्चिम गर्ने बसका यात्रुलाई फलफूल बेच्ने पीताम्बर भट्टराई र बिहानैदेखि चिया बेच्ने विष्णु पाण्डेजस्ता पात्रका लागि सामाजिक सञ्जालको होहल्लाले झन् अन्योल बढाइदिएको छ । आफ्ना सारा रहर खुम्च्याएर सन्तानको भविष्यका लागि बुटवलस्थित सुप्रिम सहकारीमा बचत जम्मा गरेका उनीहरूको पीडामाथि व्यंग्य भइरहेको भन्दै उनीहरू अब किन बोल्ने र कति बोल्ने भन्नेमा छन् ।

बुटवल–१० बुद्धनगरकी ५० वर्षीया सीता दर्जी दिनहुँ बिहान ४ बजे नै घरबाट आधा घण्टा पैदल हिँडेर चौराहास्थित राजमार्गको सार्वजनिक शौचालय पुग्छिन् । राजमार्गका यात्रुका लागि शौचालय सफा गर्छिन् । यो उनको २१ वर्षदेखिको दैनिकी हो ।

Victim savers of Supreme Cooperative Awaiting Justice

७ वर्षअघि पति गुमाएकी सीताले शौचालयकै कमाइले एक छोरा र एक छोरी हुर्काएकी हुन् । सुप्रिममा तीन लाख रुपैयाँ फसेको छ । बीचमा बिरामी परेकाले उपचारमा ७० हजार ऋण लागेको छ । अझ शौचालय पनि अहिले बुटवल–नारायणगढ सडकखण्ड विस्तार क्रममा भत्काइँदै छ ।

गुल्मीको मदाने गाउँपालिका–३ का पीताम्बर भट्टराई ठेलामा फलफूल राखेर बेच्थे, उपमहानगरले ठेला खोसेपछि यसरी पोकामै राखेर बसका पछाडि कुद्दै बेच्न थालेका हुन् । उनले दिनमा २/३ सयका दरले जम्मा गरेको ५ लाख ५५ हजार रुपैयाँ डुबेको छ । पैसा फिर्ता हुने हो कि होइन भन्ने यकिन छैन ।

अर्घाखाँचीको बल्कोटका विष्णु पाण्डेले बुटवल–८ राजमार्ग चौराहास्थित सडकछेउ चिया पसल चलाएका छन् । १० वर्षदेखि बुटवलमा डेरामा बसेर चिया बेचिरहेका छन् । उनी पनि सुप्रिम सहकारीका पीडित हुन् । उनले त जग्गा बिक्री गरेको रकम सुप्रिम सहकारीमा जम्मा गरेका थिए । १३ लाख २७ हजार बचत हिनामिना भएको छ ।

राजमार्ग चौराहाको पूर्वपट्टि सय मिटर दायाँबायाँ सडक किनारमा ठेलामा व्यापार गर्नेदेखि घरमा पसल भएकासम्म सुप्रिम सहकारीबाट पीडित भएका बचतकर्ता भेटिन्छन् । यहाँ व्यवसाय सञ्चालन गरिरहेका साना व्यवसायी मात्र होइन, चटपटे व्यापारी, मकै पोलेर गुजारा गर्ने, जुत्ता पालिस गर्ने, फलफूल तथा चिया बेच्नेहरू सुप्रिमबाट पीडित छन् ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका ८ हजार बचतकर्तामध्ये १ हजार ८ सय ३१ जनाले प्रहरीमा उजुरी दर्ता गराएपछि अनुसन्धान सुरु भएर अहिले अदालतमा मुद्दा दर्ता भएको हो ।

सुप्रिम सहकारीको ठगीमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध दायर मुद्दामा रूपन्देही जिल्ला अदालतमा बुधबारदेखि थुनछेक बहस जारी छ ।

Victim savers of Supreme Cooperative Awaiting Justice

लामिछानेका नाममा सहकारीबाट २ करोड रुपैयाँ गएको र उनी आफैंले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरेकाले सहकारी ठगीमा संलग्नताको पुष्टि हुने भएकाले सरकारी तथा जाहरेवालाका वकिलहरूले उनलाई थुनामै राखेर मुद्दा चलाउनुपर्ने माग गर्दै आएका छन् । त्यस्तै प्रतिवादीका वकिलहरूले भने लामिछानेको संलग्नता अस्वीकार गर्दै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

माघ ६ मा रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता भएको थियो । मुद्दामा गितेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित २८ जनाबाट ५५ करोडभन्दा बढी र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ ।

कान्तिपुर

Link copied successfully