विचाराधीन विधेयक अगाडि बढाउन सभामुखले खोजे एमाले र कांग्रेसको पहलकदमी

माघ १३, २०८१

कान्तिपुर संवाददाता

The Speaker sought the initiative of UML and Congress to move forward the pending bill

काठमाडौँ — सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका समितिमा विचाराधीन विधेयक अगाडि बढाउनका लागि सत्तारुढ दुई दल एमाले र कांग्रेसको पहलकदमीको अपेक्षा गरेका छन् । सत्तारुढ दलका मुख्य सचेतक र प्रमुख सचेतकसँगको आइतबारको छलफलमा सभामुख घिमिरेले विधेयक अगाडि बढाउनका लागि भूमिकाको अपेक्षा राखेका हुन् ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलासँगको छलफलमा सभामुख घिमिरेले आगामी अधिवेशन कानुन निर्माणका लागि सिर्जनात्मक हुनुपर्ने बताएका थिए ।

संसद्को आउँदो अधिवेशनलाई रचनात्मक र सिर्जनात्मक बनाउन प्रमुख सचेतकहरूबाट पहलकदमी गर्न आग्रह गरेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए । उनकाअनुसार संसदीय समितिमा विचाराधीन रहेका विधेयक पेस गर्ने र अन्य व्यवस्थापकीय पाटो विषयमा समेत छलफल भएको थियो ।

‘आजको बैठकको मुख्य विषय हाउसको प्रभावकारिता बढाउने नै हो । विचाराधीन रहेका विधेयक अगाडि बढाउने प्रसंग पनि सभामुखले जोड्नुभयो । यसमा प्रमुख दुई दलको अझै बढी पहलकदमी प्रमुख सचेतकहरूबाट रहोस् भन्ने उहाँको अपेक्षा छ । उहाँले नियममित रुपमा यो अपेक्षा गरिरहनुभएको छ,' उनले भने, 'संसद्को पाँचौं अधिवेशनको पहिलो बैठक यही माघ १८ गते हुँदैछ । यो अधिवेशन पहिलो दिनदेखि नै एकदमै रचनात्मक र सिर्जनात्मक होस् । त्यस हिसाबले बैठक अगाडि जाओस् भन्ने उहाँको अपेक्षा छ । विधेयक ल्याउने सरकारको काममा एक प्रकारको संकेत होस् भन्ने उहाँको अपेक्षा छ ।'

प्रतिनिधिसभा बैठकको पहिलो दिन सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गरेर संसद्लाई प्रभावकारी रूपमा बढाउने विषय राखेको पनि बर्तौलाले बताए ।  

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले छलफलमा सभामुख घिमिरेले अल्झिएर रहेका विधेयकको बारेमा सत्तारुढ दलको धारणा माग गरेको बताए । उनले संसद्को गएको अधिवेशनमा देखिएका समस्याबारे समेत छलफल भएको उल्लेख गर्दै पार्टी नेतृत्वसँग छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए । 

कान्तिपुर

Link copied successfully