बुटवल — बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा रूपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहस सकिएको छ । सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने मुद्दाको प्रतिवादमा आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अनिता राउत, पशुपति भण्डारी लगायतका वकिलले बहस गरेका थिए ।
उनीहरुको बहस सकिएपछि जाहेरवालाका तर्फबाट रमणकुमार कर्ण र सरकारी वकिलबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बहस गरेका थिए ।
रविसहित २२ जनालाई प्रतिवादी कायम गर्दै माघ ६ गते रुपन्देही जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो । त्यसको प्रतिवादका लागि बुधबार जिल्ला अदालतमा उपस्थित भएका थिए । जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्माजमानीमा बस्दै आएका थिए ।
न्यायाधीश योगीको इजलासमा बिहीबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिलहरुले, शुक्रबार जाहेरी तर्फका वकिल र प्रतिवादीका वकिलले बहस गरेका थिए । शुक्रवार बहस नसकिएपछि आइतवारका लागि पनि मुद्दा हेर्दाहेर्दैमा राखिएका थियो । बुधबारदेखि लामिछाने होटलमा बसेर अदालतमा नियमित हाजिर भएर मुद्दाको प्रतिवाद गर्दै आइरहेका छन् ।
दुवै तर्फको बहस सकिएपछि न्यायाधीश योगीले आदेशको तयारीमा लागेका छन् । उनले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाई गर्ने भन्ने आजै आदेश दिने सक्ने अदालतका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । ‘बहस सकिएको छ, आजै आदेश हुन्छ होला,’ उनले भने । लामिछानेसहित २२ जनालाई ५५ करोड ५९ लाख बढी बिगोसहित पुरक मुद्दा दर्ता गरिएको छ । मुद्दामा लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेललाई छुट्टै १० करोड ९९ लाख र रविको व्यक्तिगत २ करोड बिगो माग गरिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ मा र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख धरौटीमा माघ २ मा रिहा भएका थिए ।
