काठमाडौँ — स्वास्थ्य पत्रकार मञ्च नेपालमा भिषा काफ्ले अध्यक्षमा निर्वाचित भएका छन् । छैटौं राष्ट्रिय अधिवेशनबाट अध्यक्ष सहितको १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
दुई उपाध्यक्ष पदमध्ये एकमा महेश तिमल्सिना निर्वाचित भए भने अर्को उपाध्यक्ष पदमा शरद शर्मा र सञ्जिता खनालको बराबर मत आएपछि एक/एक वर्ष आलोपालो गर्ने सहमति भएको छ । वरिष्ठ उपाध्यक्षमा भने मेडिकल पत्र डटकमका सम्पादक बुद्धि कट्टेल निर्विरोध निर्वाचित भएका छन् । मञ्चको कोषाध्यक्षमा भने गोरखापत्रकी सिर्जना खत्री निर्वाचित भइन् ।
सदस्यहरुमा उपेन्द्र खड्का, सिर्जना कार्की, कृष्ण आचार्य, लक्ष्मी चौलागाईं, सुरेश खनाल, बिना न्यौपाने, सन्तोष निरा राई निर्वाचित भए । मञ्चको विधान अनुसार कार्यसमितिले दुई वर्षको कार्यकाल चलाउनेछ ।
अधिवेशनमा मञ्चका लुम्बिनी प्रदेश संयोजक बासुदेव न्यौपानेले स्थापना गरेको क्रियाशील स्वास्थ्य पत्रकारिता पुरस्कार द राइजिङ नेपालकी पत्रकार अजिता रिजाललाई प्रदान गरियो ।
