पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच झडप

आन्दोलनरत पक्षका ५ जनालाई गोली लाग्यो, सुरक्षाकर्मीतर्फ १३ घाइते भएको जिल्ला प्रहरी प्रमुखको भनाइ

माघ १३, २०८१

आनन्द गौतम

Clash between 'No Cable Car' supporters and police in Pathibhara area

ताप्लेजुङ — पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच शनिबार झडप हुँदा दुवैतर्फका गरी कम्तीमा १८ जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा एक किलोमिटर माथि रहेको बलुडाँडामा दुई पक्षबीच दिउँसो र साँझ झडप भएको हो । झडपमा सुरक्षाकर्मी १३ र आन्दोलनरत पक्षका ५ जना घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

पाथीभरा माता केबलकार कम्पनीले केबलकार निर्माण प्रक्रिया अघि बढाएदेखि नै मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायतले विरोध गरिरहेका छन् ।

कम्पनीले मंगलबार केबलकार निर्माणस्थलमा जमिन सम्याउन थालेपछि आन्दोलनकारी पाथीभरा क्षेत्रमा केन्द्रित भएका थिए । शनिबार उनीहरू र प्रहरीबीच झडप भएको हो । दिउँसो ४ बजेतिर भएको झडपमा तीन सशस्त्र प्रहरी र आन्दोलनरत पक्षका एक जना घाइते भएका थिए । साँझ फेरि झडप हुँदा थप घाइते भएका हुन् । दुवै पटक प्रहरीले गोली चलाएको आन्दोलनकारीको भनाइ छ । 

साँझ ५ बजेको झडपमा प्रहरीले गोली चलाउँदा आन्दोलरत पक्षका यामबहादुर लिम्बू (म्याङलुङ–९, तेह्रथुम), धर्मन पालुङ्वा (फुङलिङ–८, ताप्लेजुङ), सगुन लावती र मंगल लावती (मिक्लाजुङ–५, पाँचथर) घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनरत पक्षका अगुवा श्री लिंखिमले अरू पनि घाइते भएको तर रातको समय भएकाले यकिन हुन नसकेको बताए । प्रहरीतर्फ भने जवानदेखि इन्स्पेक्टरसम्मका १३ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी रवि रावलले जानकारी दिए । 

आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचना पाएपछि दिउँसो ४ बजेतिर खोजीमा गएको प्रहरीलाई माथिबाट ढुंगा र गुलेली हानिएको जिल्ला प्रशासन कार्यालयले दाबी गरेको छ । आन्दोलनकारीबाट खुकुरी, गुलेलीलगायतका सामान बरामद गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

‘माथिल्लो फेदी क्षेत्रमा बसेर उनीहरूले गलत हर्कत गरिरहेको सूचनाका आधारमा सुरक्षाको टोली गएको थियो,’ उनले भने, ‘उनीहरूले माथिबाट आक्रमण गरेपछि प्रहरीले तितरवितर पार्न अश्रुग्यास हानेको थियो, प्रहरीमाथि गुलेली र मट्याङ्ग्रा हानेपछि बाध्य भएर गोली चलाउनुपर्‍यो ।’ साँझ फेरि बलुडाँडा क्षेत्र ‘नियन्त्रणमा लिन’ भन्दै सुरक्षाकर्मी जाँदा झडप भएको थियो । 

शान्तिपूर्ण आन्दोलनको तयारी गरिरहँदा प्रहरीले दमन गरेको आन्दोलनरत पक्षका लिंखिमले बताए । ‘हामी आइतबारदेखि शान्तिपूर्ण आन्दोलन गर्न प्लेकार्ड बनाउने लगायतका तयारी गरिरहेका थियौं, त्यही बेला आएको प्रहरीले प्लेकार्ड च्यात्ने, गाउँबाट आएकालाई लात्ताले हान्ने जस्ता हर्कत गरे,’ उनले भने, ‘साँझतिर फेरि ठूलो संख्यामा प्रहरी आएर गोली चलाए ।’ 

पाथीभरा मन्दिरलाई लक्ष्य गरी फुङलिङ नगरपालिका–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २.७ किलोमिटरमा केबलकार चलाउने योजना छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको पाथीभरा मुक्कुमलुङ केबलकार प्रालिले फुङलिङ नगरपालिकाबाट निर्माण अनुमति लिएर निर्माण थालेको हो ।

ढकालले यती समूहबाट केबलकार कम्पनी किनेका हुन् । केबलकार निर्माणको जिम्मा पाएको हिमालयन कन्स्ट्रक्सनका इन्द्र केदेमले १५ महिनाभित्र सक्ने गरी काम सुरु गरेको जनाएका छन् । केबलकार निर्माणको लागत अनुमान तीन अर्ब रुपैयाँ छ । 

अर्कातिर काम नरोके हडताललगायतका आन्दोलनमा उत्रने चेतावनी आन्दोलनरत समूहले विज्ञप्तिमार्फत दिएको थियो । उनीहरूले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् अवस्थामा राख्नुपर्ने माग गर्दै आएका छन् ।

पाथीभरा क्षेत्रमै बसेर र सदरमुकाम फुङलिङ, धरानलगायतका स्थानमा उनीहरूले लामो समयदेखि विरोधका कार्यक्रम गर्दै आएका छन् । ०७४ मा यती समूहले पाथीभरामा केबलकार बनाउने तयारी थाल्दा नै स्थानीयले आन्दोलन गरेका थिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully