काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले वैदेशिक सम्बन्ध सञ्चालनमा अपरिपक्वता र असन्तुलन देखाएको निष्कर्ष निकालेको छ । सरकारले वैदेशिक सम्बन्ध संचालनमा देखाएको अपरिपक्वताले देश भूराजनीतिक समस्यामा फस्न सक्ने भन्दै राप्रपाले सचेत गराएको हो ।
राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको केन्द्रीय समितिका निर्णयमा भनिएको छ, 'वैदेशिक सम्बन्ध सञ्चालनमा देखिएको अपरिपक्वता र असन्तुलनले देश ढिलोचाँडो भूराजनीतिक चक्रव्यूहमा फस्न सक्ने खतरा टड्कारो देखिएको छ ।'
त्यस्तै, सरकार सुशासन कायम गर्नमा असफल भएको पनि राप्रपाको निष्कर्ष छ । 'सरकार सुशासन दिन असफल रहेको, मूल्यवृद्धि रोक्न नसकेको, शिथिल अर्थतन्त्र चलायमान बनाउन नसकेको, बैंकमा पूँजी जम्मा भइरहेको तर कर्जाको माग बढ्न नसकेको, सरकारी खर्च नबढ्नु, युवाको विदेश पलायन रोक्न नसक्नु, चिकित्सकको पलायन उच्च भई छात्रवृत्तिमा उपलब्ध स्नातकोत्तरको सिट खाली भएको समाचारहरू आउनुले सरकार चौतर्फी रूपमा असफल भएको र वर्तमान गठबन्धन सरकारको उपादेयतासमेत समाप्त भएको राप्रपाको निष्कर्ष छ,' राप्रपाको निर्णय भनिएको छ ।
राप्रपाले आफ्नो राजनीतिक एजेण्डा र जनजीविकाका पक्षमा आगामी दिनमा सडक र सदनमा सशक्त र प्रभावकारी ढंगमा प्रस्तुत हुने पनि निर्णय गरेको छ ।
राप्रपाको केन्द्रीय समितिले अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा प्रस्तुत समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले प्रस्तुत गरेको सचिवालयसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेद्वारा प्रस्तुत आर्थिक तथा लेखा प्रतिवेदन पारित गरेको छ ।
महामन्त्री धवलशमशेर राणाको राजनीतिक विचारसम्बन्धी दस्तावेजमाथि विस्तृत रूपमा छलफल भएको प्रवक्ता श्रेष्ठले जनाए । उक्त प्रतिवेदनमा अध्यक्ष लिङ्देनको आलोचना गरिएको थियो ।
