राष्ट्रिय गौरवका आयोजनाबारे सांसद् र विज्ञबीच छलफल

माघ १३, २०८१

कान्तिपुर संवाददाता

Discussion between parliamentarians and experts on projects of national pride

काठमाडौँ — राष्ट्रिय गौरवका आयोजनाबारे नेकपा माओवादी केन्द्रका सांसद् र विज्ञहरूबीच छलफल भएको छ । पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा पार्टीका नेताहरू सहभागी कार्यक्रममा पत्रकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निष्कर्ष र छलफल शीर्षकमा प्रस्तुति गरेका छन् ।

यस्तै, इन्ष्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक अफेयर्स (आइजीपीए) ले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन स्थितिः प्रमुख निस्कर्ष र सुझावहरू तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले पूर्वाधार शासन र राष्ट्रिय गौरवका आयोजनाहरूः समस्या र सम्भावित समाधानहरूको पहिचान विषयमा प्रस्तुतिकरण दिएका छन् ।

यस्तै, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वाधार शासन र राजनीतिक दलः चुनौतीहरू र आगामी बाटो विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ । 

राष्ट्रिय गौरवका आयोजना र विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे संसद् र संसद् बाहिर पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रको अर्थ तथा योजना विभागका प्रमुख एवम् सांसद वर्षमान पुनले जानकारी दिए । 

कार्यक्रममा निर्धाणाधीन अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरू हुलाकी राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग, उत्तर दक्षिण कोशी करिडोर, उत्तर दक्षिण कालीगण्डकी करिडोर, उत्तर दक्षिण कर्णाली करिडोर, काठमाडौँ तराई एक्सप्रेस वे (फास्ट ट्र्याक), लुम्बिनी क्षेत्र विकास आयोजना, मेलम्ची खानेपानी आयोजना, बुढीगण्डकी जलासययुक्त परियोजना लगायतको प्रगति र समस्याको पहिचानका विषयमा छलफल भइरहेको छ ।

कान्तिपुर

Link copied successfully