कर्णालीको रारा र सुदूरपश्चिमको खप्तडमा पर्यटक प्रहरी लैजाने तयारी सुरु गरिएको मन्त्री पाण्डेले जानकारी दिए ।
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्र एक्लै अगाडि बढ्न नसक्ने बताएका छन् । उनले पर्यटनका लागि नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको पनि बताए ।
काठमाडौंमा शनिबार आयोजित ४६ औं पर्यटक प्रहरी दिवस कार्यक्रममा मन्त्री पाण्डेले नेपालमा पर्यटनको विकास र प्रवर्धनका लागि जैविक, प्राकृतिक विविधतालाई जोगाउनुपर्ने चुनौती रहेको बताए । उनले पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्र अगाडि बढ्न जरुरी रहेको बताए ।
‘पर्यटन क्षेत्र भनेको एक्लै अगाडि बढ्नै नसक्ने क्षेत्र हो । एक्लैले म यो गर्छु भनेर सम्भव हुँदैन । पर्यटन भन्नासाथै पर्यटनसँग सबै क्षेत्र जोडिन्छ । गृह मन्त्रालय जोडिन्छ, परराष्ट्र मन्त्रालय जोडिन्छ, वन मन्त्रालय जोडिन्छ, उद्योग मन्त्रालय जोडिन्छ,' मन्त्री पाण्डेले भने, 'ठाउँ-ठाउँमा क्रसरहरू खुल्दैछन् । नदीको प्राकृतिक बहावमा अतिक्रमण भयो भने र्याफ्टिङको सम्भावना रहँदैन । ऊर्जा मन्त्रालयले ठूला—ठूला ड्याम राखेर ऊर्जाको विकास गर्दछ । विकास जरुरी छ । तर, नदीको प्राकृतिक बहाव हामीले जोगाउनुपर्ने चुनौती पनि छ । जैविक विविधता जोगाउनुपर्ने चुनौती पनि छ । त्यसको सुरक्षा भएन भने पर्यटक त्यो गन्तव्यमा जान मान्दैनन् ।’
मन्त्री पाण्डेले नेपालमा पर्यटनको अनुकूल वातावरण छ भन्ने कुरा सरकारले स्थापित गर्ने बताए । उनले पर्यटकहरू देशको समृद्धिको वाहक भएको बताए ।
मन्त्री पाण्डेले अहिले नेपालमा पर्यटक प्रहरीको संख्या २ सय ४६ रहेको भन्दै पर्यटक प्रहरीको प्रभावकारिता बढाउँदै लैजानुपर्ने धारणा राखे । कर्णालीको रारा र सुदूरपश्चिमको खप्तडमा पर्यटक प्रहरी लैजाने तयारी सुरु गरेको उनले जानकारी दिए । पयर्टक प्रहरीको संख्या बढाउने र २९ ठाउँमा मात्रै रहेका उनीहरूलाई अन्य क्षेत्रमा बिस्तार गर्दै जाने उनको भनाइ थियो ।
'हाल २ सय ४६ जना मात्र पर्यटक प्रहरी हुनुहुन्छ । नेपालको भूगोलअनुसार २ सय ४६ जना मात्र पर्यटक प्रहरी रहनु एकदमै न्यून हो,' उनले भने, 'यसलाई बढाउन मन्त्रालयले नेपाल प्रहरीसँग छलफल गरिरहेको छ ।'
