सहकारीको रकम कम्पनीमा लैजान पाइँदैन भन्ने नजान्नेहरू 'जान्नेलाई छान्ने'का अभियानकर्ता रहेछन् : पोखरेल

माघ १२, २०८१

कान्तिपुर संवाददाता

Those who do not know that the funds of the cooperative cannot be transferred to the company have been the campaigners of 'choosing those who know': Pokharel.

काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले 'जान्नेलाई छान्ने' नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको दाबी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा महासचिव पोखरेलले पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्छ भन्ने भ्रम फैलाइएको पनि बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै महासचिव पोखरेलले 'जान्नेलाई छान्ने' भन्ने अभियन्ताहरू सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने पनि जानकारी नराख्नेहरू रहेको बताए । उनले जान्नेलाई छान्ने भन्नेहरूले नेपालको कानुन पहिला जान्नुपर्ने अभिव्यक्ति दिए ।

‘नयाँ खोज्नेहरूले नारा लगाए, जान्नेलाई छान्नुपर्दछ । नारा सारै मिठो थियो । छान्नै पर्दछ, जान्नेलाई नै छान्नुपर्दछ । तर कस्ता रहेछन् त नेता भन्दा सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने कानुन पनि पढ्न नजान्नेहरू जान्नेलाई छान्नेका अभियान कर्ता रहेछन्,' पोखरेलले भने, 'नेपालको कानुन के छ ? भन्नेकुरा त जान्नुपर्‍यो नि, जान्नेलाई छान्नेहरूले, परेन ? कुनैपनि संस्थाबाट ल्याएको रकम फिर्ता गर्नुपर्दछ भन्ने मान्यताका आधारमा त्यो रकमको सदुपयोग गर्नुपर्दछ, भन्नेकुरा त जान्नुपर्‍यो नि ! जहाँबाट पनि ल्याएको छ, मनपरी खर्च गरेको छ । संस्था डुबाएको छ । नारा लगाएको छ, जान्नेलाई छान्ने ?'

युवाहरूलाई भ्रममा पार्नका लागि जान्नेलाई छान्ने नारा लगाइकए महासचिव पोखरेलको भनाइ थियो । 'अब युवाहरु भ्रमित हुनेवाला छैनन् । जान्नेलाई छान्ने नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको थियो भन्नेकुरा युवाहरूले अब बुझिसकेका छन्,' उनले भने, 'मुलुकका समस्या समाधान गर्नका लागि अनुभव नभएका, एक प्रकारले भन्ने हो भने राजनीतिक विज्ञानसँग बेखबर भएका, सामाजिक सञ्जालमा लोकप्रियता हाँसिल गरेका भरमा राजनीतिको मैदानमा सफल भइन्छ भन्ने हुँदैन । राजनीति आफैँमा एउटा विज्ञान हो ।’

महासचिव पोखरेलले राजनीति गर्नेहरूले संघर्ष गर्न सक्नुपर्ने र धैयर्ता राख्न सक्नुपर्ने बताए । सयौँ फूलहरू फूल्न दिनुपर्छ भन्नुको अर्थ सयौँ पार्टीहरू खोलेर सत्ताको राजनीतिमा लुछाचुँडी गर्नुपर्छ भन्ने नभएको पोखरेलको भनाइ थियो । उनले समाजवादका नाममा अनेक प्रकारका दलहरूले खोलेर समाजवादी आन्दोलनलाई कमजोर पार्ने काम भइरहेको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully