थप तीन सामुदायिक वनमा फैलियो डढेलो, बस्ती पस्न नदिन हेलिकोप्टरबाट पानी
काभ्रे — खानीखोला र बेथानचोक गाउँपालिकाको सीमामा रहेको चिसापानी सामुदायिक वनमा मंगलबारदेखि सुरु भएको डढेलो अन्य तीन सामुदायिक वनमा फैलिएको छ । डढेलो लाग्न सुरु भएको ४ दिन बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
खानीखोला–१ थाम लेकको चिसापानी सामुदायिक वनबाट सुरु भएको आगो फैलिँदै बेथानचोक–१, २, ३ र ५ को सीमा क्षेत्रसम्म आइपुगेको हो ।
चिसापानीको डढेलो आफैं नियन्त्रणमा आए पनि महाभारत पर्वतशृंखलामा पर्ने अन्य तीन सामुदायिक वनमा भने नियन्त्रणमा आउन सकेको छैन । डढेलो बस्तीमा आउन नदिन शुक्रबार बेथानचोक–२ रमित्तेडाँडा र ज्वानो थुम्कामा सिम्रिक एयरको हेलिकोप्टरबाट पानी खन्याएर आगो निभाउने प्रयास गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए ।
‘हेलिकोप्टरले नाङ्गेचौरको पोखरीबाट बकेटमा पानी बोकेर जोखिम भएको रमित्तेडाँडामा आगो निभाएको छ,’ उनले भने, ‘हेलिकोप्टरले एक पटकमा १ हजार लिटर पानी बोक्ने रहेछ, २४ पटकसम्म पानी बोकेर जोखिम भएको ठाउँमा आगो निभाइएको हो ।’ उनका अनुसार वडा १ सेतीभीर, वडा २ बाँसघारी, रतनचौर, वडा ३ देउराली डाँडा, हरेल डाँडा, गौरी भन्ज्याङ, ढुटीडाँडा, नारायणस्थान, वडा ५ को च्याल्टीलगायत स्थानमा डढेलोको जोखिम छ ।
डढेलो बुधबारदेखि बेथानचोक गाउँपालिकाको जनजागृति सामुदायिक वन, मूलडाँडा चोरन्डे सामुदायिक वन र बेथानचोक नारायणस्थान सामुदायिक वनमा फैलिएको डिभिजन वन कार्यालय काभ्रेका वन अधिकृत एवं वन डढेलो नियन्त्रण फोकल पर्सन चीनकाजी श्रेष्ठले बताए ।
हिउँदमा पनि डढेलो लाग्नु आश्चर्यजनक भएको उनको भनाइ छ । ‘मध्य हिउँदमै डढेलो लागेको छ, यो मानवीय त्रुटिकै कारण भएको अनुमान छ,’ उनले भने । भौगोलिक रूपमा विकट रहेकाले आगो निभाउन जान निकै जोखिम रहेको उनले बताए । ‘भीर–भीरमा डढेलो लागेको छ । त्यहाँसम्म पुग्न बाटो नै छैन, आगो निभ्न अझै २/३ दिन लाग्ने अनुमान छ,’ उनले भने ।
आगो बस्तीसम्म आउन नदिन स्थानीयलाई जोखिम भएका स्थानमा रूख काट्न र सुकेका पातपतिङ्गर हटाउन पनि भनिएको उनले बताए ।
डिभिजन वन प्रमुख कृष्णबहादुर थापाका अनुसार माघ ८ मा चिसापानी सामुदायिक वनको दक्षिण भेगबाट सुरु भएको डढेलो अहिले उत्तरी भेगतर्फ आइपुगेको छ । उत्तरी भेग अलि चिसो र ओसिलो भएकाले डढेलो अलि कम भएको उनले बताए । उनका अनुसार हावाहुरी लागिरहेकाले आगो फैलिन सक्ने जोखिम भने कायमै छ ।
