सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’

११२६ मिटर लामो सुरुङमा ०८४ मंसिरदेखि सवारीसाधन सञ्चालन गर्ने तयारीका साथ ‘फिनिसिङ’ को काम तीव्र गतिमा

माघ १२, २०८१

माधव अर्याल

Siddha Baba Tunnel 'Break Through'

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्ग ठेक्का भएको करिब तीन वर्षपछि शुक्रबार ‘ब्रेक थ्रु’ भएको (छिचोलिएको) छ । सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको थियो ।

 निर्माणका क्रममा कुनै समस्या आइनपरे ०८४ मंसिरदेखि सुरुङमार्गबाट सवारीसाधन सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए । 

‘ब्रेक थ्रुपछि अब सुरुङभित्र फिनिसिङको काम सक्न नै डेढ वर्ष बढी लाग्नेछ, सुरुङबाहिर पनि धेरै स‌ंरचनाहरू बनाउन बाँकी नै छन्,’ निर्देशक झाले भने ।

उनका अनुसार सुरु सम्झौताको म्याद ०८३ फागुनसम्म छ । तर त्यही अवधिमा सबै काम पूरा गर्न नसकिने भन्दै निर्माण कम्पनीले म्याद थप गर्न माग गर्दै आएको छ । 'रुख कटान लगायत कामले सुरुवातमा काम गर्न नपाएको विषयलाई लिएर निर्माण कम्पनीले अरु ९ महिना म्याद थप गर्न माग गरिरहेको छ, तर यसबारे निर्णय भइसकेको छैन,' उनको भनाइ छ ।

निर्माण व्यवसायीले माग गरेको ९ महिनासमेत समय दिएर कुनै समस्या नआए उक्त अवधिभित्र निर्माणको काम सक्न समस्या नहुने उनको भनाइ छ । आयोजनाका अनुसार ०७८ फागुनमा ठेक्का सम्झौता भए पनि सुरुङ खन्ने काम ०८० जेठबाट सुरु गरिएको थियो । त्यसअघि पूर्वतयारी र रूख कटानलगायत कारणले गर्दा सुरुङ खन्ने काम हुन सकेको थिएन । 

सुरुङमार्गभित्र सवारीसाधनमा केही समस्या आइपरे सहजताका लागि र तत्काल उद्धार गर्न १५१ मिटरको पहिलो, १६१ मिटरको दोस्रो र १३० मिटर दूरीको तेस्रो बाइपास सुरुङ निर्माण गरिएको छ, जसको केही समयअघि ‘ब्रेक थ्रु’ भइसकेको छ । 

पाल्पाको तिनाउ गाउँपालिका–३, स्थित दोभानमा रहेको उक्त सुरुङमार्गको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भर्चुअल’ सम्बोधन गरेपछि ‘ब्रेक थ्रु’ भएको हो । यसअघि प्रधानमन्त्री ओली उपस्थित हुने कार्यक्रम तय गरिएको भए पनि अन्तिम समयमा स्वास्थ्य अवस्थाका कारण ‘भर्चुअल ब्रेक थ्रु’ गरिएको हो ।

‘भर्चुअल’ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सिद्धबाबा खण्डमा पनि सुरुङ निर्माण हुन्छ र भनेर मानिसहरू कुरा गर्थे, तर हुन्छ, हुँदोरहेछ ।’ उनले सडक नबन्दा उक्त खण्डमा हरेक वर्ष बर्खायाममा साना–ठूला सवारीसाधन दुर्घटना हुने गरेको कुरा सम्झिए ।

‘नौबिसे–नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दा मैले भनेको थिएँ, अब नेपाल सुरुङ युगमा प्रवेश गर्‍यो, गाडीहरू घुमाएर, मनमा दुर्घटनाको त्रास बोकेर यात्रा गर्नुपर्ने छैन,’ उनले भने, ‘सडक सुरुङमार्गका रूपमा अहिले नागढुंगा–सिस्नेखोला, काठमाडौं– तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) पछि सिद्धबाबामा सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।’ 

‘ब्रेक थ्रु’ का लागि मुख्य सुरुङको उत्तर र दक्षिण भाग जोड्न १.८ मिटरमात्रै बाँकी राखिएको थियो, जुन काम शुक्रबार पूरा गरियो । ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भौतिक सचिव केशवकुमार शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीलगायतको उपस्थिति थियो । 

सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीका अनुसार अहिलेसम्म समग्र निर्माणको भौतिक ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत छ । दुई लेन रहने मुख्य सुरुङर्मागको दूरी ११२६ मिटर छ । मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहनेछ । सुरुङको ‘ब्रेक थ्रु’ भए पनि भित्र ‘लाइनिङ’ र ‘स्लोप’ मिलाउन समय लाग्ने उनले बताए । 

पहिलो बाइपासको ०८१ असोज ४ मा, दोस्रोको पुस ७ मा र तेस्रो बाइपास सुरुङको भदौ २६ मा ‘ब्रेक्र थ्रु’ भएको थियो । सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याडसमेत निर्माण गर्ने तयारी छ । सुरुङभित्रको भित्तामा ‘कंक्रिटिङ’ गर्ने, ‘वाटर प्रुफिङ’, सडक निर्माण, ढलान, ‘भेन्टिलेसन’, ‘लाइनिङ’, ‘लाइटिङ’, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी रहेको सूचना अधिकारी सविता ज्ञवालीले बताइन् । 

यस सुरुङमार्ग निर्माणको ठेक्का ०७८ फागुनमा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ५ वर्षभित्र सम्पन्न सक्ने गरी लिएको हो । ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ रहेको छ । 

ठेक्का सम्झौताअनुसार सुरुङमार्गको निर्माणपछि ५ वर्षसम्म ठेक्का लिने कम्पनीले नै सञ्चालन तथा मर्मत सम्भार गर्नुपर्नेछ । सुरुङमार्ग सम्पन्न भएर सञ्चालनमा आएपछि लुम्बिनी र गण्डकी प्रदेशका पाल्पा, रूपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, बागलुङ, मुस्ताङलगायतका क्षेत्रका स्थानीयले सहज रूपमा यात्रा गर्न पाउनेछन् ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully