गैँडा संरक्षणमा हातेमालो गरौँ : वनमन्त्री शाही

माघ १२, २०८१

कान्तिपुर संवाददाता

Let's join hands in rhino conservation: Forest Minister Shahi

काठमाडौँ — वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले गैँडा संरक्षणमा सबैजना मिलेर हातेमालो गर्नपर्ने बताएका छन् । गैँडा हेर्न विश्वका विभिन्न मुलुकहरूबाट चितवन आउने बताउँदै मन्त्री ठकुरीले गैँडा हेर्नकै लागि चितवनबाट आउने पर्यटकहरूको पहिलो रोजाइ बनेको बताए ।

 शनिबार सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् ।

कार्यालयमा उद्धार गरेर ल्याइएका ४ वटा गैँडाको अवस्थाको बारेमा जानकारी लिँदै उनले संरक्षणमा सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताए । सरकारले हालै गैँडा संरक्षणका लागि भनेर १० वर्षे कार्ययोजना ल्याएको उल्लेख गर्दै मन्त्री ठकुरीले समुदायमा आधरित संरक्षणलाई आफूले जोड दिएको उल्लेख गरे ।

'संरक्षण मन्त्रालय एक्लैको प्रयासले मात्रै नभएर समुदायको पनि पनि सक्रिय भूमिका हामीले खोजेका छौँ,' मन्त्री ठकुरीले भने, 'संरक्षणका लागि सबैजनाको सहयोग आवश्यक छ ।' कोषको सौराहास्थित कार्यालयमा हाल एउटा पोथी र ३ वटा भाले गरेर चारवटा गैँडा रहेको कोषका चितवनस्थित कार्यालयका प्राविधिक किरण रिजालले जानकारी दिए । उनका अनुसार हाल कोषमा २९ महिनाको पोथी गैँडा र अन्य ३ वटा गैँडाहरूको उमेर १९ महिना र करिब डेढ वर्षको रहेको प्राविधिक रिजालले बताए । उनका अनुसार ती गैँडाहरूलाई विभिन्न समयमा उद्धार गरेर ल्याइएको हो । 

कोषका अध्यक्ष समेत रहेका मन्त्री ठकुरीले गैँडा संरक्षण तथा समस्याग्रस्त वन्यजन्तुको उद्धारमा कोषले महत्वपूर्ण काम गरेको उल्लेख गरे । सन् २०२१ को गैँडा गणना अनुसार नेपालमा ७५२ वटा गैँडा रहेको गैँडा विज्ञ नरेश सुवेदीले बताए ।

कोषका सदस्यसचिव समेत रहेका सुवेदीका अनुसार चितवनमा मात्रै ६९४ वटा गैँडा छन् । यस्तै बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा ३ वटा गैँडा रहेको सदस्यसचिव सुवेदीले जानकारी दिए । यस्तै, मन्त्री ठकुरीले चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टर परिसरमा रहेको नेपालको पहिलो वन्यजन्तु अस्पतालको समेत अवलोकन गरेका थिए ।

कान्तिपुर

Link copied successfully