काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बृहत् वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा खनालले सबैलाई महसुस भएको खण्डमा अहिलेको आवश्यकता बृहत् वामपन्थी एकता भएको र महसुस नभएको खण्डमा २०८४ सालको निर्वाचनपछि थाहा हुने बताए ।
कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको खनालको भनाइ थियो । पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भए पनि अहिले समाजवादी मोर्चाबारे परिपक्व अवस्था नभएको बताए ।
‘हामीले अहिलेको अवस्थामा आन्दोलनलाई एकताबद्ध गर्ने हो भने सही वैचारिक राजनीतिक कार्यदिशामा आउनुपर्छ । सही वैचारिक कार्यदिशा अहिले नै पहिल्याउन सकिँदैन भने कमसेकम साझा आधार छ । एउटा बृहत वामपन्थी मोर्चा बनाउन जरुरी छ । अब कतिपयले समाजवादी मोर्चा भन्नुहुन्छ । समाजवादी मोर्चाको अहिले त्यो परिपक्व अवस्था होइन,' उनले भने, 'समाजवादी कार्यक्रम नै नलिएकाहरूले के समाजवादी मोर्चा बनाउने ? नाम मात्रैको समाजवादी मोर्चा बनाउने हो भने जेजे गरे पनि हुन्छ । होइन, साँच्चै समाजवादी मोर्चा बनाउने हो भने त समाजवादी कार्यक्रम, नीति लिएकाहरूको बीचमा नै मोर्चा बनाउने होला । कति वटा समूह छन् त्यस्ता ? त्यसैले हामीले यतिबेला गर्ने भनेको व्यापक वामपन्थी मोर्चा नै हो । वामपन्थी मोर्चा आवश्यक छ ।'
नेपालमा वर्तमान समयमा दुईवटा पार्टीको अधिनायकत्व चलिरहेको पनि खनालको भनाइ थियो । कांग्रेस नेपालको दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको र कम्युनिष्टहरुको मुख्य प्रतिद्वन्दी कांग्रेस नै रहेको उनको भनाइ थियो । नेपालको कम्युनिष्ट आन्दोलन क्रमिक रुपले विभाजित भइरहेको उनले बताए ।
