सत्तामा धेरै  कुरा सेटिङमा चल्दा रहेछन् : अध्यक्ष दाहाल

माघ १२, २०८१

दुर्गालाल केसी

In power, many things are going on in the setting: President Dahal

दाङ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तामा धेरै कुरा सेटिङमा चल्ने गरेको बताएका छन् । प्रेस सेन्टर दाङले शनिबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले तीन पटक प्रधानमन्त्री हुँदा धेरै कुरा सेटिङमा चल्ने गरेको थाहा पाएको बताए ।

‘धेरै कुरा सेटिङमा चल्ने गरेका रहेछन् ।मैले तीन पटक प्रधानमन्त्री हुँदा यही महसुस गरेको छु, उनले भने,’दलाल, पुँजीवादीहरूको सेटिङमा नै धेरै काम हुन्छन् । त्यही सेटिङबाट नै सरकार ढाल्ने काम हुन्छ ।’

तेस्रो पटक प्रधानमन्त्री हुँदा आफूले गर्न लागेका सुधारका कामले सेटिङमा चल्नेहरूलाई असर परेको र सोही कारणले आफ्नो सत्ता ढलेको उनले बताए । 

भूमाफीयादेखि जग्गा दलाल लगायत अनेक शक्तिले सेटिङ गरेर सत्ता आफू अनुकूल बनाउन खोज्ने गरेको उनले बताए । ‘सेटिङमा सरकारलाई अनेक दबाब आउने गरेका छन् । अहिलेका प्रधानमन्त्रीले समेत मलाई धेरै कुरामा दबाब दिएका थिए, उनले भने,’मैले नमानेको हो । सेटिङमा देश चलाउने कुरालाई मैले रोक्ने प्रयास गरेकै हो ।’

माओवादी अरू पार्टी जस्तो नभएको दाबी गर्दै उनले कामबाट नै त्यो पुष्टि गर्ने बताए । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई मुख्य मुद्दा बनाएर अघि बढेको उनले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully