‘पासवर्ड’ दुरुपयोग गरेर दुई युवाले दोब्बर बनाइदिए भाटभटेनीको कर

६ करोड ८२ लाख ६५ हजार ५ सय ९० रुपैयाँ बढी कर दायित्व हुने गरी राजस्व कर प्रणाली सफ्टवेयरमा रकम हेरफेर गरेको आरोपमा सीआईबीद्वारा दुई युवा पक्राउ

माघ १२, २०८१

विवेक पोख्रेल

By misusing 'password', two youths doubled the tax of Bhatbhateni

काठमाडौँ — आन्तरिक राजस्व विभागमा आबद्ध भाटभटेनी सुपरमार्केटले प्रयोग गर्ने ‘युजर नेम’ र ‘पासवर्ड’ दुरुपयोग गरेर दुई युवाले ६ करोडको करलाई १३ करोड पुर्‍याइदिएको खुलासा भएको छ । राजस्व विवरण हेरफेर गरेको आरोपमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सन्तोष पराजुली र परिन पाण्डेलाई पक्राउ गरेको छ ।

उनीहरूले पुसको राजस्व रकममा ६ करोड ८२ लाख ६५ हजार ५ सय ९० रुपैयाँ बढी कर दायित्व हुने गरी राजस्व कर प्रणालीको सफ्टवेयरमा रकम हेरफेर गरेको प्रहरीको भनाइ छ । ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्व आरोपित दुई जनाले दोब्बर बनाइदिएका थिए ।

‘कारोबार रकम २ अर्ब ३४ करोड १६ लाख ४२ हजार ८ सय १६ रुपैयाँको राजस्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँलाई हेरफेर गरी १३ करोड ९ लाख ५९ हजार ६ सय ९ रुपैयाँ बनाइएको थियो,’ उनले भने । 

पर्वतको बिहादी–३ का पराजुली र गोरखाको भीमसेन थापा–४ का पाण्डे हाल चितवनको भरतपुर–११ मा बस्दै आएका थिए । उनीहरूलाई भरतपुर महानगरपालिका–३ स्थित ‘बिहादी बिजनेस म्यानेजमेन्ट’ नामक अडिट फर्मबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको छ । बिजनेस म्यानेजमेन्ट कम्पनी लेखासम्बन्धी काम गर्ने संस्था हो । सीआईबीले संस्थाका सञ्चालकहरूको समेत खोजी गर्दै छ । 

विभागले विज्ञप्ति जारी गर्दै आफ्नो एकीकृत कर प्रणाली पूर्णरूपमा सुरक्षित रहेको दाबी गरेको छ । ‘करदाता आफैंले वा कर अधिकृतमार्फत युजर नेम र पासवर्ड तयार गर्ने व्यवस्था रहेको छ र त्यसको सुरक्षाको जिम्मेवारी पनि निज करदाताकै हुने व्यवस्था छ,’ विज्ञप्तिमा भनिएको छ । 

विभागको प्रणालीभित्र छिरेर नभई अनधिकृत व्यक्तिले करदाताको ‘युजर नेम’ र ‘पासवर्ड’ प्रयोग गरेर एक करदाताको मूल्य अभिवृद्धिकरतर्फको विवरण गलत प्रविष्ट गरिएको विभागको दाबी छ । ‘हामीले नै थाहा पाएर प्रहरीलाई खबर गरेका थियौं,’ विभागका उपमहानिर्देशक सेवन्तक पोखरेलले भने, ‘करदाताको युजर नेम र पासवर्ड दुरुपयोग भएको रहेछ ।’ विभागले सबै करदाताका तथ्यांक तथा अभिलेख सुरक्षित रहेको समेत जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

सीआईबी प्रवक्ता शाहीले भने, ‘हामी यस विषयमा अध्ययन गर्दै छौं, उनीहरूले यसरी दायित्व बढाउँदा के फाइदा हुन्छ भन्ने विषय खुलेको छैन । भाटभटेनी र आरोपीहरूसँग बयानको काम भइरहेको छ ।’ 

उनीहरूबाट प्रहरीले एक–एक थान ल्यापटप, सीपीयू, वाइफाई राउटर, डीभीआर, मोबाइल फोन बरामद गरेको छ । माघ ५ मा पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । प्रहरीले विभागसँग समन्वय गरी प्रकरणका अन्य पक्षहरूबारे जानकारी लिने बताएको छ । 

साइबर सुरक्षा विज्ञ विवेक राणाले घटनाको गम्भीर अनुसन्धान गर्नुपर्ने औंल्याएका छन् । ‘विभागको कर प्रणाली पोर्टलमा करदाताले विवरण हाल्दा आफ्ना विवरण भर्न सक्छ तर भ्याट रकम त फेर्न सक्दैनन् नि,’ राणाले भने, ‘भ्याट रकम १३ प्रतिशत हो, यसलाई सिस्टमले नै प्यारामिटरका रूपमा राखेको हुन्छ । यो घटनामा सिस्टमको प्यारामिटर परिवर्तन गरिएको छ जुन करदाताले गर्न सक्दैन ।’

राणाले यसमा कि त सिस्टम बिग्रिएको वा सिस्टमभित्रकै कसैले बदमासी गरेको हुन सक्ने आशंका व्यक्त गरे । विभागले घटनाको गहिरो अनुसन्धान गरी सिस्टममा अरू कमजोरी छन् कि भनेर पुनरावलोकन गर्नुपर्ने उनको सुझाव छ ।

‘विभागले बनाएको यो प्रणाली सेन्ट्रलाइज्ड प्रणाली हो, यस्तोमा अनधिकृत रूपमा बाहिरका व्यक्तिले पहुँच बनाउनु चुनौतीपूर्ण हुन्छ,’ राणाले भने, ‘यसमा सिस्टमभित्रका व्यक्तिको संलग्नता वा प्रणालीमै कमजोरी भएको आशंका गर्न सकिन्छ ।’

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully