काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनको निर्णयविपरीत चलेको, नीति र सिद्धान्तलाई बेवास्ता गरेको आरोप लगाएका महामन्त्री धवलशमशेर राणाको चर्को आलोचना भएको छ । राणाले लिङ्दनेका कार्यशैलीप्रति प्रश्न उठाउँदै शुक्रबारको बैठकमा १६ बुँदे सवाल उठाएका थिए । राणाको लिखित प्रतिवेदनमाथि बैठकमा छलफल भइरहेको छ ।
काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा शनिबार बोल्ने ६९ जनामध्ये अधिकांशले लिङ्देनमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै राणाको चर्को आलोचना गरेका हुन् ।
बैठकमा राणाको आलोचना गर्नेहरूमा सह–महामन्त्रीहरू धनबहादुर बुढा, प्रकाश रिमाल, झनक प्याकुरेल, सहायक महामन्त्रीहरू विजय खड्का, रमानन्द न्यौपाने, सहायक प्रवक्ता पूर्णबहादुर चन्द र कार्यसम्पादन सदस्य ठाकुरप्रसाद शर्मा छन् ।
‘कुनै बेला तपाईं आफैं एमाले हुनुहुन्थ्यो । अहिले आएर अध्यक्ष लिङ्देनको निष्ठामा शंका गर्ने ?’ उनको प्रश्न थियो, ‘तपाईंले एमाले गठबन्धनबाट चुनाव जितेको होइन ? तपाईंले विधि र पद्धति बाहिरबाट आएको प्रतिवेदन फिर्ता लिनुपर्छ ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा समितिमा बसेको सन्दर्भ उल्लेख गर्दै त्यसबेला राणाले मन्त्री पद मागेको आरोप लगाए । ‘मन्त्री माग्ने महामन्त्री राणाको १६ सवालको प्रतिवेदन असल नियतका साथ नआएको र पार्टी अध्यक्षलाई आरोप लगाउनेबाहेक केही नभएको उनको तर्क थियो ।
महामन्त्री राणाको प्रतिवेदनको पक्षमा केन्द्रीय सदस्यहरू जनकराज पाठक, धनसुर शाही, रञ्जन कार्की, भरत पाठक र प्रवीण ठोकरलगायतले धारणा राखेका थिए । ‘महामन्त्रीले पार्टी विधिबाट चल्न नसकेपछि धारणा ल्याउनु भएको छ,’ उनीहरूको भनाइ थियो, ‘राप्रपालाई आफ्नो उद्देश्य पूरा गर्न यो प्रतिवेदन आएको छ ।’
बैठकमा बोल्ने केन्द्रीय सदस्यले राजतन्त्रको पुनःस्थापना, धार्मिक मुद्दा, भ्रष्टाचार विरोधी आन्दोलनमा जोड दिए । उनीहरूले मोडालिटी तयार गरी आन्दोलनमा जान नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बैठकमा वैचारिक बहस भइरहेको बताए । ‘बैठकमा अत्यन्तै सौहार्दपूर्ण ढंगले वैचारिक बहस भइरहेको छ,’ उनले भने, ‘व्यापक निर्णयपछि निष्कर्षमा पुग्नेछ ।’
महाधिवेशनको कार्यादेश, पार्टीको घोषित नीति र लक्ष्य कार्यान्वयनमा शिथिलता देखिएकाले १६ सवाल उठाएको राणाले बताए । ‘एकता महाधिवेशनको मर्म र भावनाअनुरूप पार्टीलाई एकढिक्का राख्न नयाँ सक्रियता र सत्प्रयासको अभाव देखिएको छ,’ उनले लिखित प्रतिवेदनमा भनेका छन्, ‘संस्थागत अधिकार पार्टी समितिहरूमा सुरक्षित छ, विधानमा अध्यक्ष वा पदाधिकारीलाई एकलौटी अधिकार उपलब्ध छैन । तैपनि, पुरानै व्यवस्थामा जस्तो अध्यक्षात्मक प्रणालीको जानेर नजानेर चर्चा गरिन्छ, जो महाधिवेशनको कार्यादेश, विधानको मर्म र भावनाअनुकूल छैन ।’ उनले अध्यक्ष लिङ्देनबाट विधानको गलत व्याख्या भएको आरोप पनि लगाए । अध्यक्षको सत्ता–मोहका कारण सदन र सडक मोर्चा कमजोर भएको पनि उनले बताए ।
‘पार्टीभित्र आन्दोलनको तयारी र कार्यान्वयनमा विभिन्न व्यवधान गम्भीर चिन्ताको विषय बनेको छ भने सदनमा समेत हाम्रो भूमिका प्रभावकारी रहन सकेको छैन,’ उनले भने, ‘यस अर्थमा सडक र सदन दुवै मोर्चामा पार्टी कमजोर देखिन थालेको छ । मूलतः लक्ष्य र सिद्धान्तप्रतिको निष्ठा, पार्टी एकताजस्ता विषयमा विभिन्न प्रश्नहरू उब्जिएका छन् ।’
महाधिवेशनको कार्यादेश हृदयंगम गर्दै राप्रपाको एकता, बृहत्तर हित, आन्तरिक प्रजातन्त्र र लक्ष्य प्राप्तिप्रतिको निष्ठा एवं इमान्दारीलाई मूलमन्त्र मानेर पार्टीलाई एकताबद्ध, विधिसम्मत अघि बढाउन कार्यकर्तामाझ छलफलका लिखित प्रस्ताव प्रस्तुत गरेको महामन्त्री राणाले जनाएका छन् ।
