काठमाडौँ — आन्तरिक राजस्व विभागको सफ्टवेयर प्रणाली अनधिकृत पहुँच बनाई भाटभटेनी सुपरमार्केटको कर हेरफेर गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।
आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा रहेको सूचनामा अनधिकृत रूपमा पहुँच पुर्याई चुक्ता गर्नुपर्ने राजस्व रकम, राजस्व कर प्रणाली सफ्टवेयरमा हेरफेर गर्ने कार्यमा संलग्न भएको भन्दै सन्तोष पराजुली र परिन पाण्डेलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
उनीहरूले पुस महिनाको राजस्व रकममा ६ करोड ८२ लाख ६५ हजार ५ सय ९० रुपैयाँ बढी कर दायित्व हुने गरी राजस्व कर प्रणाली सफ्टवेयरमा रकम हेरफेर गरेको आरोप छ। ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक सुधिर राज शाहीका अनुसार भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने जम्मा कारोबार रकम २ अर्ब ३४ करोड १६ लाख ४२ हजार ८ सय १६ को राजस्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ लाई परिवर्तन तथा हेरफेर गरी १३ करोड ९ लाख ५९ हजार ६ सय ९ रुपैयाँ उनीहरूले बनाएका थिए ।
पर्वत बिहादी गाउँपालिका-३का २८ वर्षीय पराजुली र गोरखा भीमसेन थापा गाउँपालिका-४ का २२ वर्षीय पाण्डे घर भएर हाल चितवनको भरपुर ११ मा बस्दै आएका थिए । उनीहरूले भरतपुर महानगरपालिका वडा नम्बर ३ बिहादी बिजनेस म्यानेजमेन्ट नामको कार्यालयबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भएको छ । बिजनेस म्यानेजमेन्ट कम्पनीले लेखा सम्बन्धित काम गर्ने संस्था हो । सीआईबीले संस्थाक सञ्चालकहरूको समेत खोजी गर्दैछ । सन्तोष पराजुली सञ्चालकका भाइ हुन् भने पाण्डे उक्त कम्पनीमा कार्यरत कर्मचारी रहेको शाहीले बताए । यस कम्पनी र भाटभटेनी सुपरमार्केटबीच भने कुनै पनि सम्बन्ध नरहेको शाही बताउँछन् ।
सीआईबीले उनीहरूले अन्य संघसंस्थाको पनि यसरी नै कर दायित्वमा फेरबदल गरेको बताएको छ । शाहीले भने, हामी यस विषयमा अध्ययन गर्दैछौँ, उनीहरूले यसरी दायित्व बढाउँदा के फाइदा हुन्छ भन्ने विषय खुलेको छैन । भाटभटेनी र आरोपीहरूसँग बयानको काम भइरहेको छ। उनीहरूबाट प्रहरीले एक-एक थान ल्यापटप, सीपीयू, वाइफाइृ राउटर, डीभीआर, मोबाइल फोन पनि बरामद गरिएको छ । ५ गते पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।
