अखिल क्रान्तिकारीमा संस्थापन र उपमहासचिव शर्मा पक्षबीच मुख्य प्रतिस्पर्धा

२४३ सदस्यीय केन्द्रीय समितिका लागि करिब ५ सयको उम्मेदवारी, शनिबार मतदान

माघ ११, २०८१

कान्तिपुर संवाददाता

The main competition is between the establishment and the Deputy Secretary General Sharma side in Akhil Revolutionary

काठमाडौँ — माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा पार्टी नेताहरूले आफूनिकट विद्यार्थी नेतालाई छुट्टाछुट्टै अघि सारेका छन् । नेतृत्वका लागि संस्थापन र उपमहासचिव जनार्दन शर्माको पक्षका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ ।

अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले विजय सापकोटालाई उम्मेदवार बनाएका छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेशकुमार यादव र उपाध्यक्ष कृष्णबहादुर महरानिकट योगेन्द्रबहादुर बुढाले पनि उम्मेदवारी दिएका छन् । उपमहासचिव जनार्दन शर्मा पक्षले हेमन्त राईलाई अध्यक्षको उम्मेदवार बनाएको छ । अध्यक्षका अर्का उम्मेदवार सुदीन पौडेल उपमहासचिव वर्षमान पुननिकट हुन् ।

संस्थापन पक्षले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरे पनि सहमति जुट्न नसकेपछि अध्यक्षमा धेरै जनाको उम्मेदवारी परेको एक विद्यार्थी नेताले बताए । माओवादीको पछिल्लो केन्द्रीय पदाधिकारी बैठकमा अध्यक्ष दाहालले विद्यार्थीको सर्वसम्मत नेतृत्व बनाउनु उचित हुने बताए पनि खुला प्रतिस्पर्धालाई रोक्न नहुने जनाएका थिए । पार्टीमा खुला प्रतिस्पर्धाको बहस भइरहेका बेला विद्यार्थी संगठनमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने उपमहासचिव शर्माको अडान थियो ।

अध्यक्षमा पुष्पकमल दाहाल पक्षका विजय सापकोटा, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेशकुमार यादव, उपाध्यक्ष कृष्णबहादुर महरा पक्षका योगेन्द्रबहादुर बुढा, उपमहासचिव जनार्दन शर्मा पक्षका हेमन्त राईको उम्मेदवारी, अर्का उम्मेदवार सुदीन पौडेल उपमहासचिव वर्षमान पुननिकट

माओवादीका एक नेताका अनुसार संस्थापन पक्षविरुद्ध शर्माले शक्ति प्रदर्शनकै शैलीमा उम्मेदवार बनाएका छन् । संस्थापन पक्षले ‘हेडक्वार्टर’ (अध्यक्ष)’ को निर्देशन भन्दै आफ्ना उम्मेदवारलाई जिताउन विद्यार्थी इन्चार्ज हिमाल शर्मा, दाहालका स्वकीय सचिव एवं अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लको टिम खटाएको ती नेताले बताए । ‘हेडक्वाटरको निर्देशन नमान्नेलाई कारबाहीको चेतावनी छ,’ ती नेताले भने, ‘त्यसैले यो निर्वाचनमा हेडक्वारटर र जनार्दन शर्माबीच लडाइँ देखिन्छ ।’ संस्थापन पक्ष विद्यार्थी संगठनमा पराजित भएमा त्यसको असर पार्टीमा पर्ने भन्दै ‘जसरी पनि जिताउने’ अभियानमा लागेको नेताहरुको भनाइ छ ।

माओवादीका केन्द्रीय सदस्य एवं विद्यार्थी इन्चार्ज हिमाल शर्माले विद्यार्थीहरु स्वतन्त्र रूपमा उम्मेदवार भएको उल्लेख गर्दै दुई वा तीन प्यानल नभएको दाबी गरे । ‘यो वा त्यो प्यानल घोषणा भएको छैन,’ उनले भने, ‘उम्मेदवारी फिर्ता नलिँदासम्म सहमतिको प्रयास जारी रहन्छ । तर अर्का विद्यार्थी नेताले संस्थापन र शर्मा पक्षले आफ्नो प्यानल (पदाधिकारी तह) लाई जिताउन नेताहरु नै परिचालन गरेको जानकारी दिए । शर्मा पक्षले अनिल शर्मासहित टिम परिचालन गरेको छ ।

अखिल क्रान्तिकारीको विधानअनुसार १ अध्यक्ष, खुला ४, समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्षमा अटल आचार्य, खेमबहादुर सिंह, जीवन खड्का, टंकप्रसाद उपाध्याय, तुलसीराम न्यौपाने, देउमा जैसी, देवकी कार्की, देवेन्द्रराज शर्मा, विराज थापा, भीष्मराज चौलागार्इं, मदन ढकाल, मुना काप्री, योगेश भट्टराई, रमेश आचार्य, राजीवरमण न्यौपाने, रोशन खड्का, लालबहादुर पाण्डे, विनोद कोइराला, समीप खरेल र समीर बुढाथोकीले उम्मेदवार छन् ।

संस्थापन पक्षका रोशन खड्काले अनलाइनमार्फत महासचिवमा उम्मेदवार दिएका थिए । तर निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दा खड्काको नाम उपाध्यक्षमा राखेको छ । यसबारे निर्वाचन समितिका प्रमुख वरिष्ठ अधिवक्ता मुक्ति प्रधानसमक्ष उजुरी परेको छ । महासचिव जनार्दन शर्मा पक्षका उम्मेदवारहरुले यसमा आपत्ति जनाएका छन् । उजुरी दिनेहरुमा महासचिवका उम्मेदवार रोशन थापा मगर, उपाध्यक्षहरु ममता अधिकारी, देवेन्द्र शर्मा, भीष्मराज चौलागाईं र कृष्ण सुनार छन् ।

संस्थापन पक्षबाटै महासचिवमा तिर्सना हमाल, शिव बस्नेत र श्याम रोकाले उम्मेदवारी दिएका छन् । शर्मा पक्षले भने रोशन थापा मगरलाई महासचिवको उम्मेदवार बनाएको छ । सञ्जयकुमार महतो, सञ्जीव फुँयाल, प्रतीक कार्की, पदमबहादुर काफ्ले पनि महासचिवको उम्मेदवार बनेका छन् । अखिल क्रान्तिकारीको २ सय ४३ सदस्यीय केन्द्रीय समितिका लागि ५ सय जनाको उम्मेदवारी परेको छ । सबैले अनलाइन माध्यमबाट उम्मेदवारी दिएका हुन् ।

नेतृत्व चयनका लागि शनिबार मतदान हुँदै छ । सातै प्रदेशका निर्वाचन केन्द्रमा मतदान हुनेछ । अखिल क्रान्तिकारीले गत पुस १४ मा मतदान गराएर ३२ वर्षे उमेर हद लगाउनुपर्ने निर्णय गरेको थियो । त्यहीअनुसार केन्द्रीय समितिमा ३२ वर्ष उमेरमुनिका विद्यार्थीबीच प्रतिस्पर्धा हुँदै छ ।

कान्तिपुर संवाददाता

Link copied successfully