द काठमान्डु पोस्ट क्लाइमेट डायलग : ‘अब विश्वयुद्ध भए पानी र अक्सिजनका लागि’

माघ ११, २०८१

दीपक परियार

The Kathmandu Post Climate Dialogue: 'Now World War for Water and Oxygen'

पोखरा — जलवायु परिवर्तनको असरसँग जुध्न युवालाई समेट्ने गरी स्थानीय तहसम्मै जलवायु नीति बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । यससम्बन्धी अनुसन्धानमा सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने पनि उनीहरूले बताएका छन् ।

कान्तिपुर पब्लिकेशन्स्को अंग्रेजी दैनिक द काठमान्डु पोस्टले बिहीबार पोखरामा गरेको ‘जलवायु परिवर्तनसँग जुध्न गण्डकीका युवाको भूमिका’ विषयक जलवायु संवादमा वक्ताले युवाको संलग्नता बढ्ने गरी स्थानीय तहमै नीति तथा योजना बन्नुपर्नेमा जोड दिएका हुन् । फोहोर व्यवस्थापनमा काम गरिरहेका युवा उद्यमी टीकाराम पौडेल (सन्तोष) ले राष्ट्रियस्तरमा विभिन्न जलवायु नीति, रणनीति र योजना बने पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए । 

‘स्थानीय तहमा जलवायु नीति नहुँदा युवाले आफ्नो धारणा कार्यान्वयन गर्न पाएका छैनन्,’ उनले भने, ‘राष्ट्रियस्तरका नीतिमा पनि युवालाई समेटिएको छैन । जलवायु परिवर्तनसँग जुध्ने युवा जोसजाँगरले नै हो ।’ जलवायुमैत्री उद्यमशीलतामा युवा सहभागिताबाटै दिगो रूपमा समस्या समाधान हुने उनले तर्क गरे । उनले जलवायुसँग सम्बन्धित तथ्यांकको पनि खोजी हुनुपर्ने उल्लेख गरे । ‘प्रदेशस्तरमा जलवायु परिवर्तनका मुद्दामा युवालाई एक ठाउँमा ल्याउने सरकारी संयन्त्र प्रदेश युवा परिषद् चाहिन्छ,’ उनले भने ।

जलवायु अनुसन्धाता अर्किड रोजी पुरीले तेस्रो विश्वयुद्ध भए कसले शुद्ध पानी पिउन पाउने र कसले शुद्ध हावामा श्वास लिन पाउने भन्नेमा हुने बताइन् । नेपालजस्ता विकासशील देशमा अवस्था धेरै बिग्रिनसकेको उल्लेख गर्दै उनले विकास र वातावरणको सन्तुलन मिलाएर अघि बढ्नुपर्नेमा जोड दिइन् । पुरीले वैज्ञानिक अनुसन्धानमा सरकारले निकै न्यून खर्च गरेको बताइन् । जलवायुसम्बन्धी अनुसन्धानमा सरकारले पर्याप्त बजेट नछुट्याउँदा युवाको सहभागिता पनि कम भएको उनको भनाइ थियो । 

गण्डकी प्रदेशमा विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना भए पनि बजेट अभावमा काम गर्न नसकिरहेको उनले सुनाइन् । सरकारले विद्यालय स्तरबाटै जलवायु परिवर्तनलाई पाठ्यक्रममा राख्नुपर्ने र युवाले पनि जलवायुमैत्री व्यवहार अपनाउनुपर्ने उनले बताइन् । ‘हाम्रो आनीबानीलाई ख्याल गरेर पनि कार्बन उत्सर्जन कम गर्न सकिन्छ,’ उनले भनिन्, ‘निजी सवारीसाधनभन्दा सार्वजनिक सवारीको प्रयोग गर्ने, छोटो दूरीमा हिँड्ने बानी बसाल्ने, कोठामा बसेर हिटर ताप्नुको सट्टा घाम ताप्नेजस्ता बानीव्यहोरा अपनाउन सकिन्छ ।’ 

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा जलवायु परिवर्तनका सन्दर्भमा राष्ट्रियस्तरमा अहिलेको परिवेश सुहाउँदो नीति तथा योजना प्रशस्त रहे पनि तिनको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको स्विकारे । उनले जलवायु परिवर्तनसँग जुध्न गण्डकी प्रदेश सरकारले माघभित्रै जलवायु रणनीति ल्याउने तयारी गरेको जानकारी दिए । ‘सरकारले बनाएको जलवायु नीति युवालाई छुटाउने किसिमको छैन,’ उनले भने, ‘प्रभावकारी बनाउन सक्ने हो भने युवा संलग्नता बढ्छ ।’ जलवायुसम्बन्धी अध्ययन अनुसन्धानमा सरकारी क्षेत्र पछाडि परेको स्विकार्दै उनले लगानी बढाउनुपर्नेमा सहमत भए ।

जलवायु परिवर्तनले पारेका असरसँग जुध्न आवश्यक साधनस्रोतका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जोडदार रूपमा कुरा राख्न नसकेको देवकोटाको भनाइ छ । ‘हामी जति प्रभावित छौं, त्यही स्तरमा तयारी गरेर मुद्दा उठाउन सकेका छैनौं,’ उनले भने, ‘हाम्रो उपस्थितिलाई दरिलो ढंगले उभ्याउन सक्यौं भने लाभ लिन सक्छौं ।’ जलवायु परिवर्तन न्यूनीकरणभन्दा पनि अनुकूलनमा जोड दिनुपर्ने बताउँदै उनले संघले कतिपय कानुन नबनाउँदा प्रदेशमा पनि बन्न नसकिरहेको उल्लेख गरे ।

संवादमा सहभागी दर्शकका तर्फबाट बोल्दै जलवायु अभियन्ता अमृत पौडेलले सम्पन्न व्यक्तिले गर्ने उपभोगको असर जलवायु परिवर्तनका रूपमा विपन्न वर्गले खेप्नुपरेको सुनाए । पोखराका होटलले प्रतिशय्या वार्षिक ४ सय किलो कार्बन उत्सर्जन गर्ने तथ्यांक प्रस्तुत गर्दै उनले दिगो विकासमा सरकारका नीति कार्यान्वयनमा कमजोरी औंल्याए । ‘हामीले सानैमा देखेको माछापुच्छ्रे र अहिलेको माछापुच्छ्रेमा धेरै फरक छ,’ उनले भने, ‘यसमा युवा पुस्ता पनि गम्भीर हुन जरुरी छ ।’

अर्का जलवायु अभियन्ता विक्रम भण्डारीले गण्डकी प्रदेशले जलवायु रणनीति तयार गर्दा युवालाई पनि मञ्च प्रदान गर्नुपर्ने बताए । मुस्ताङकी पर्यटन व्यवसायी एवं जलवायु अभियन्ता लक्ष्मी गुरुङले सन् २०२३ मा कागबेनीमा आएको बाढीको कहर सुनाइन् ।

‘मध्य पहाडमा हुने वर्षा अहिले सरेर हिमाली भेगमा पुगेको छ,’ उनले भनिन्, ‘मुस्ताङ पहिला पानी नै नपर्ने ठाउँ थियो, त्यसैले घरको छाना पनि माटोकै हुन्थ्यो । माटोको सहर भनेर मुस्ताङ चिनिएको थियो । तर अहिले पानी परेर ती घर नष्ट भइरहेका छन् ।’ उनले सन् २०२३ मै दुबईमा भएको कोप–२८ सहभागी भएर नेपालजस्तो मुलुकले हानी नोक्सानी कोषबाट क्षतिपूर्ति पाउनुपर्ने विषय उठाएको सुनाइन् । उनले भनिन्, ‘हामीलाई ऋण वा लगानी होइन, क्षतिपूर्ति चाहिएको हो,’ उनले भनिन्, ‘यो हाम्रो अधिकार हो ।’

मुस्ताङकै युवा विद्यार्थी आदित्य रसाइलीले प्रदेश सरकारले जलवायु नीति बनाउन ढिला गरेको बताए । उनले जलवायु परिवर्तनका असरसँग जुध्न अनुकूलनका योजना प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिए । काठमाडौं पोस्टका सम्पादक विश्वास बरालले प्रदेशस्तरमा जलवायु संवाद गर्ने योजनाअनुरूप गण्डकीबाट सुरु गरेको बताए । उनले सातै प्रदेशमा जलवायु संवाद गरेर दस्ताबेज तयार पारी सार्वजनिक रूपमा बहसको सुरुआत गर्ने र यस बहसलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने योजना रहेको सुनाए । जलवायु संवादलाई नेपाली युवा उद्यमी मञ्च, पोखरा च्याप्टरको पनि साथ रहेको थियो ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully