देशको शीघ्र विकासका लागि सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली

माघ ११, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश बनाउने काममा अहिलेको सरकार लागेको बताएका छन् । भर्चुअलमाध्यमबाट सिद्धबाबा सुरुङमार्ग योजनाको 'सुरुङ ब्रेक थ्रु' गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘स्थानीय जनता, जसले यस सुरुङमार्गको निर्माणका लागि सरकारलाई झक्झकाउने काम, हामी सबैलाई झक्झकाउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुभएको छ, म उहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । यो हामी सबैको सफलता हो । यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ ।’

प्रधानमन्त्री ओलीले अहिलेको सरकार विकासका लागि बनेको दाबी गर्दै यो सरकारले विकासका कामलाई तिब्रताका साथ अगाडि बढाउँने बताए । उनले भने, ‘अहिले अघिल्लो पटक सुरु भएका कामहरु अगाडि बढेका छन् । अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ ।’

उनले सबैलाई आशावादी हुन आग्रह गर्दै  भने, ‘हामी बनाउँछौं हाम्रो देश, अरुले बनाउने होइन  । उनले त्यसका लागि रुको पनि सहयोग लिन सकिने र अरुलाई लगानीका लागि आमन्त्रण गर्न सकिने पनि बताए ।

प्रधानमन्त्री ओलीले देशको विकास सम्भव भएको र यो छिटो हुने भन्दै आफूहरूसँग युवा जनशक्ति, स्रोत साधन रहेको बताए । उनले थपे, ‘हाम्रा प्रयासहरु र हाम्रा मित्रहरुका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्ने छौं ।’

कान्तिपुर संवाददाता

Link copied successfully