प्रधानमन्त्री ओलीलाई सन्चै छ ?

‘प्रधानमन्त्रीज्यूलाई रुघाखोकीका कारण सामान्य ज्वरो आएको थियो । औषधि खाइरहनु भएको छ ।डाक्टरले अझै तीन-चार दिन आराम गर्न सल्लाह दिएका छन् ।’- प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य

माघ ११, २०८१

कान्तिपुर संवाददाता

Is Prime Minister Oli all right?

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पाल्पा र रुपन्देहीका गरी चार कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । पाल्पाका बगनासकाली र तिनाउँ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन र सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्ने, बुटवल-गोरुसिंगे सडक स्तरोन्नोति शिलान्यास कार्यक्रम थियो । तर शुक्रबार बिहान उनी त्यस क्षेत्र जाने कार्यक्रम स्थगित भयो ।

प्रधानमन्त्री ओलीले शुक्रबार तय भएका यी सबै कार्यक्रम प्रधानमन्त्री निवास बालुटारबाट भर्चुअल माध्यमबाट उद्घाटन र शिलान्यास गरे । सिद्धबाबा सुरुङमार्गको 'ब्रेक थ्रु' गर्ने कार्यक्रम माघ ८ मा तय भए पनि ओलीको व्यस्तताका कारण स्थगित गरी शुक्रबार सारिएको थियो ।

माघ ८ राति अबेरसम्म पार्टी सचिवालय बैठकमा व्यस्त रहेका थिए । त्यसको अर्को दिन माघ ९ गते बुधबार सशस्त्र प्रहरी दिवसमा प्रमुख अतिथि हुने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री ओलीलाई अलि सन्चो नभएकाले सशस्त्र प्रहरी दिवसमा उपस्थिथित हुन नसकेको जानकारी गराइएको थियो ।

बुधबारदेखि ओली बालुवाटार बाहिरका कार्यक्रममा सहभागी भएका छैनन् । प्रधानमन्त्रीको सचिवालयले मौसमी रुघाखोकीका कारण ओली भौतिक रूपमा कार्यक्रममा सहभागी हुन नसकेको जनाएको छ । चिकित्सकको सल्लाहअनुसार उनले भाइरल ज्वरोको औषधि खाइरहेको जानकारी दिएको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले ओलीको स्वास्थ्य सामान्य हुँदै गएको बताए ।‘प्रधानमन्त्रीज्यूलाई रुघाखोकीका कारण सामान्य ज्वरो आएको थियो । औषधि खाइरहनु भएको छ,’ उनले इकान्तिपुरसँग भने, ‘डाक्टरले अझै तीन-चार दिन आराम गर्न सल्लाह दिएका छन् ।’

सचिवालय जारी गरेको प्रेस नोटमा स्वास्थ्य प्रतिकूलताका कारण भर्चुअल माध्यमबाट उद्घाटन गरेको जनाएको छ । ‘प्रधानमन्त्री ओली आज (शुक्रबार) कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उहाँको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गर्नुभएको हो,’ सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ । उनले भौतिक रुपमा उपस्थिति नभए पनि शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गरेको बताए ।

ओलीले भर्चुअल माध्यामबाट सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको 'ब्रेक थ्रु' गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न लागि परेको बताए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो ।

प्रधानमन्त्री ओली स्थलगत रूपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल रूपमा सहभागी भएका हुन् । उनले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरूलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताए । ‘सुरुङमार्ग 'ब्रेक थ्रु' हुनु सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजोझैं दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘मुलुकमा शिघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ ।

कान्तिपुर संवाददाता

Link copied successfully