बुटवल-गोरुसिंगे सडक निर्माण सुरु, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

देशको विकासमा उच्च संकल्प र आँटका साथ अघि बढेको प्रधानमन्त्री ओलीको दाबी

माघ ११, २०८१

घनश्याम गौतम

Butwal-Gorusinge road construction started, Prime Minister Oli laid the foundation stone

बुटवल — बुटवल गोरुसिंगे सडक विस्तारको काम सुरु भएको छ । बुटवलदेखि गोरुसिंगेसम्मको झन्डै ५० किलोमिटर सडकको शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट बुटवल–१३ जिगतढीमा शिलान्यास गरेका छन् । सडकको शिलान्याससँगै निर्माणको काम सुरु भएको आयोजनाले जनाएको छ । 

आयोजनाको भर्चुअल शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले तीन वर्षभित्रै बुटवल-गोरुसिंगे सडक विस्तारको काम सम्पन्न हुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको पनि बताए । ‘हामी देश विकासमा धेरै अघि बढिसकेका छौं,’ उनले भने, ‘सुरुङ मार्ग, प्रशासनिक भवन, सडकका ठूला आयोजना समयमै सम्पन्न गर्ने र त्यसको प्रतिफल जनताले पाउने अवस्था सुरु भएको छ ।’ उनले बुटवल-गोरुसिंगे सडक पनि आगामी तीन वर्षभित्रमै सक्ने गरी निर्माण सुरु गरिएको बताए । ‘देशको विकासमा हामी उच्च सङ्कल्प र आँटका साथ देशको विकास हामीहरू आफैंले गरिरहेका छौं,’ उनले भने । 

सडक शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि चीनका राजदूत चेन सोङलगायतको भने प्रत्यक्ष उपस्थिति रहेको थियो । 

राजा महेन्द्रका पाला २०१९ सालमा निर्माण भएको पूर्वपश्चिम राजमार्गको बुटवलदेखि चन्द्रौटासम्मको सडक खण्ड ६२ वर्षपछि विस्तार हुन लागेको हो । सुरुमा एक लेनमा निर्माण गरिएको सडक २०३५/३६ सालमा दुई लेनमा विस्तार भएको थियो । बुटवलदेखि चन्द्रौटासम्म एसियाली विकास बैंकको ऋण सहयोगमा २७ करोड ५० लाख अमेरिकी डलर (झन्डै ३५ अर्ब) लागतमा ६९ किलोमिटर सडक अब ४ लेनमा विस्तार हुनेछ । 

पहिलो चरणमा बुटवलदेखि गोरुसिंगेसम्मको झन्डै ५० किलोमिटर सडक निर्माण सुरु भएको हो । १९ किलोमिटर दूरीको गोरुसिंगे-चन्द्रौटा खण्डमा दोस्रो चरणमा निर्माण गरिनेछ । बुटवलदेखि गोरुसिंगे खण्डमा रुखको मार्किङ, विद्युत् पोलको व्यवस्थापन, माटो, ढुंगा, गिटी र बालुवाको परीक्षणका लागि ल्याब निर्माण, ठूला मेसिन र सामाग्रीहरुको व्यवस्थापन र सडकको जाँच गर्ने काम सकेर शुक्रबार शिलान्यास गरिएको हो । 

पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछन् । १ सय ४९ कल्भर्ट र ६ वटा अन्डर पास/ओभर पास निर्माण हुनेछन् । यो सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जंगल क्षेत्रमा २४ मिटर चौडाइको बन्नेछ । सडक क्षेत्रमा पर्ने ७ हजार बढी रुखहरू काटिएको बुटवल-गोरुसिंगे सडक परियोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् ।

‘सडक निर्माणका लागि निर्माण कम्पनीसँग १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सम्झौता भएर काम अघि बढेको छ,’ उनले भनिन्, ‘३ वर्षभित्र काम सक्ने गरी निर्माण गर्न कम्पनीले काम सुरु गरेको हो ।’ सडक निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सम्झौता गरेका छन् । 

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully