रुद्राक्ष थेप्चो पार्न झन्डै ३० लाख दानामा क्लिप

९० करोड हाराहारी खर्चेर क्लिप लगाएका व्यापारी भाउ नपाएपछि मर्कामा

माघ १०, २०८१

दीपेन्द्र शाक्य

Rudraksh clips around 3 million grains to wear

काठमाडौँ — धेरै भाउ पाइने चिनियाँ व्यापारीको विश्वासमा परेर रुद्राक्षको दानालाई क्लिप लगाएर थेप्चो आकार बनाएका रुद्राक्ष व्यापारीहरू यति बेला मर्कामा परेका छन् । स्थानीय किसानहरूसँग बोट नै खरिदेर रुद्राक्ष व्यापारीहरूले भारतीय र चिनियाँ व्यापारीहरूलाई थोकमा बेच्दै आएका थिए ।

यस्ता व्यापारीहरूले स्थानीयसँग खरिदेको रुद्राक्षको बोटमा चिनियाँ व्यापारीबाट किनेर प्लास्टिकको क्लिप लगाएका थिए । भारतीय व्यापारीको रोजाइमा थेप्चो आकारको रुद्राक्ष नपर्ने र तर चिनियाँ व्यापारीले भनेजस्तो भाउ नदिने भएपछि यति बेला उनीहरू मर्कामा परेका हुन् ।

रुद्राक्ष संघका केन्द्रीय सदस्य मनोज कटुवाल चिनियाँ व्यापारीले रुद्राक्ष किन्ने भन्दै क्लिप बेचर झुक्क्याएको आरोप लगाए । उनले भने, ‘थेप्चो आकारको रुद्राक्षको भाउ पर्ने भन्दै उनीहरूले क्लिपको मात्रै व्यापार गरेर स्थानीयलाई झुक्क्याए ।’ उनका अनुसार यो वर्ष मात्रै स्थानीयले झन्डै ३० लाख दानामा क्लिप लगाएका छन् । उनले क्लिपमा मात्रै अनुमानित ९० करोड भन्दा धेरै लगानी भए पनि यति बेला क्लिप लगाएकै कारण रुद्राक्षको मूल्य ५० प्रतिशतभन्दा धेरैले घटेको बताए ।

रुद्राक्ष व्यवसायी राजीव श्रेष्ठका अनुसार धेरै भाउ पर्ने भन्दै स्थानीयले प्रति क्लिप ३० रुपैयाँमा सदरमुकामसम्मै आइपुगेको चिनियाँ व्यापारीबाट क्लिप किने । उनले यस्तो क्लिप किनेर प्रत्येक दानामा लगाउँदा मजदुरको खर्च सहित जोड्दा झन्डै ६० रुपैयाँसम्म खर्च भएको सुनाए । उनले भने, ‘अहिले भारतीयले थेप्चो रुद्राक्ष नकिन्ने अनि चिनियाँ व्यापारीले प्रति रुद्राक्ष १५ देखि २० रुपैयाँ भन्दा धेरै दिन नखोज्ने भएपछि स्थानीय मर्कामा परे ।’ स्थानीयका अनुसार प्राकृतिक आकार बिगारेर थेप्चो पारिएको रुद्राक्ष भारतीय व्यापारीले रुचाउँदैनन् ।

विगतका वर्षमा चिनियाँ व्यापारीहरूले प्लास्टिकका क्लिप लगाएर थेप्चो रुद्राक्ष मन पराएपछि धेरैजसो स्थानीयले क्लिपको प्रयोग गर्न थाले । कलिलो आकारको रुद्राक्षमा १० देखि १५ दिनसम्म प्लास्टिकको क्लिप लगाएपछि त्यसको आकार थेप्चो बन्छ । तर यस्तो अभ्यास यति बेला स्थानीयलाई गलपासो बनेको छ । राजीवका अनुसार अहिले झन्डै तीन सय भन्दा धेरै स्थानीयले उत्पादन गरेको क्लिप लगाएको रुद्राक्ष बेच्न नसकेर अप्ठ्यारोमा छन् ।

गत वर्ष डेढ करोडको रुद्राक्षको व्यापार गरेका स्थानीय किसान दलिन्द्र राईले रुद्राक्षका कन्ठे, हुसेन लगायतका प्रजातिमा क्लिप लगाइएको र यसैका कारण आफूहरू मर्कामा परेको बताए । उनले आकर्षक र राम्रो रुद्राक्षका दानामा क्लिप लगाएको तर त्यही क्लिपवाला दाना विक्री नभएपछि मर्कामा परेको बताए ।

दीपेन्द्र

Link copied successfully