बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा लामिछानेलाई परिवार र वकिलको जिम्मा
बुटवल — बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका छन् । अदालतले बुधबार बयान सकेपछि उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्माजमानीमा छाडेको छ ।
लामिछानेसँग जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिउँसो १ बजे बयान लिन थालिएको थियो ।
बयानपछि न्यायाधीश योगीले थुनछेक बाँकी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखेर लामिछानेलाई श्रीमती र उनकै पक्षका कानुन व्यवसायीको जिम्मामा छोड्ने आदेश गरेको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । लामिछानेलाई श्रीमती निकिता पौडेल र उनका कानुन व्यवसायी नारायण कँडेल र पशुपति भण्डारीले जिम्मा बुझेका छन् । ‘अब भोलि बिहीबार थुनछेक बहस हुन्छ,’ स्रेस्तेदार ज्ञवालीले भने ।
यसअघि स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगीसम्बन्धी अभियोगमा भने काठमाडौं जिल्ला अदालतले लामिछानेलाई न्यायिक हिरासतमै राखेर बयान र थुनछेक बहस गराएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहस चल्दा पनि उनलाई हिरासतमै राखिएको थियो ।
ती दुवै अदालतमा उनले हिरासतबाहिरै बसेर थुनछेक बहसमा सहभागी हुन पाउनुपर्ने अपिल गरेका थिए । रूपन्देही अदालतले भने उनको मागअनुसारै बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हिरासतबाहिरै बस्ने सुविधा दिएको हो ।
रूपन्देही जिल्ला अदालतमा बुधबार बयानका क्रममा अभियोग पत्रका आधारमा तयार गरिएका झन्डै २ दर्जन प्रश्न गरिएको थियो । त्यसमा लामिछानेले इन्कारी बयान दिएका थिए । गोर्खा मिडियाको आम्दानी र बैंक खातामा जम्मा हुने रकमको सबै जिम्मेवारी र जानकारी कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईमै रहेको उनको दाबी थियो । बयानको अन्तिमतिर उनले आफू मद्दाको सहयोगका लागि आफैं अदालतमा उपस्थित भएको र बिहीबार पनि उपस्थित हुने भएकाले जिम्माजमानीमै छोड्न याचना गरेका थिए ।
थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह–न्यायाधिवक्ता सोमकान्ता भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, न्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेल लगायतले बहस गर्ने छन् ।
‘केही नाम तलमाथि पनि हुन सक्छ,’ जिल्ला न्यायाधिवक्ता पौडेलले भने, ‘संख्या र नाम टुंगो लाग्न बाँकी नै छ ।’ सहकारी पीडितका तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारीसहितले बहस गर्ने तयारी छ । इजलासमा पीडितले पनि बोल्न पाउनुपर्ने माग आफूहरूले गरेको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजयकुमार नेपालले बताए । सहकारी पीडितहरू बुधबार अदालत परिसरमा पुगेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले सुप्रिम सहकारीको रकम संगठित ठगीमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
त्यसबाहेक लामिछाने, गोर्खा मिडियाका अध्यक्ष राई र पूर्वउपाध्यक्ष छविलाल जोशीसँग थप १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ । लामिछानेलाई व्यक्तिगत रूपमा २ करोड बिगो पनि मागदाबी गरिएको छ ।
प्रहरीले सुप्रिम सहकारी रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ मा लामिछाने, जोशीबाहेकका २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । लामिछानेसहितका १४ जनाविरुद्ध गत असोज ५ मा पूरक जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सकेर दर्जन बढी तथ्य र प्रमाणसहित पूरक अभियोग दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणमा प्रतिवादीलाई पनि कसुर र बिगो थपेर प्रतिवादी बनाइएको छ ।
पूरक अभियोग पत्रमा जीबी राई, लामिछाने र जोशीका साथै कुमार रम्तेल, शिवबहादुर गुरुङ, लक्ष्मीप्रसाद पौडेल, दीपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जनलाई प्रतिवादी बनाइएको छ ।
विज्ञान राई, नरेश जीसी, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, सागर केसी, नवीन अछामी, असरफ अलि सिद्दिकी र हेमन्त अधिकारी पनि प्रतिवादी छन् । उनीहरूमध्ये कुमार रम्तेल र शिवबहादुर गुरुङ पहिले नै पक्राउ परेर पुर्पक्षा लागि कारागारमा छन् ।
कात्तिक २ मा पक्राउ परेका लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । दुवै अदालतले ‘कसुदार छैनन् भन्ने अवस्था नदेखिएको’ भन्दै उनीसँग धरौटी माग गरेका थिए ।
