लेखा समिति सभापति पोखरेलका पूर्वस्वकीयविरुद्ध ठगी मुद्दा

माघ १०, २०८१

पर्वत पोर्तेल

Fraud case against former owner of Account Committee Chairman Pokharel

विराटनगर — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले अनिलविरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा चलाएको हो । 

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बिहीबार अनिलको बयान हुने र सोही दिन बयान सकिए थुनछेक बहस सुरु हुने जानकारी दिए ।

एमबीबीएसको प्रवेश परीक्षामा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीबाट अनिलले २०७१ देखि २०७३ सम्म पटकपटक गरी ३८ लाख ८० हजार रुपैयाँ लिएको अभियोग छ ।

पैसा फिर्ता माग्दा अनिलले उल्टै ५० लाख रुपैयाँ ऋण लिएको कपाली तमसुकमा जबर्जस्ती हस्ताक्षर गराइएको भन्दै चौधरी उजुरी लिएर इलाका र जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उजुरी दर्ता नगरिएपछि जिल्ला सरकारी वकिलको कार्यालयमा गुहार माग्दा पनि उनले सहयोग पाएका थिएनन् । 

चौधरीले २०७९ साउन १८ मा हुलाकबाट जाहेरी पठाउँदासमेत प्रहरीले अनुसन्धान अघि बढाएको थिएन । पछि उनी अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनी उच्च अदालत पुगेका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी वज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले जाहेरी दर्ता गरी अनुसन्धान गर्न गत भदौ ३१ मा आदेश दिएको थियो । उक्त आदेश पुस ११ मा प्रमाणीकरण भएपछि अनिलविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसपछि गत पुस २५ मा अनिलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । 

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully