अझै ९६ नेपाली खोज्दै इन्टरपोल
काठमाडौँ — मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तर फरार प्रतिवादी बिनौद पौडेल पक्राउ परेका छन । बर्दिया बढैयाताल गाउँपालिका २ घर भई काठमाडौं टोखा नगरपालिका ३ बस्ने पौडेललाई एनसीबी अबु मस्कट ओमानको समन्वयमा पक्राउ गरेर बुधबार नेपाल फिर्ता ल्याइएको हो ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिआएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को खोजीमा अझै ९६ नेपाली छन, जसमध्ये ७१ जनालाई रेड नोटिस जारी गरिएको छ भने २५ जनालाई डिफ्युजन नोटिस जारी छ । नेपालमा ५ विदेशीलाई रेड र ११ जनालाई डिफ्युजन नोटिस जारी गरेर खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १० वर्षयता ६७ जनालाई इन्टरपोलमार्फत नेपाल ल्याइएको छ । प्रहरीका अनुसार उक्त अवधिमा ७ विदेशीलाई पक्राउ गरेर सम्बन्धित मुलुक पठाइएको छ । अदालतमा विचाराधीन मुद्दामा आरोपी लुकेको ठाउँ थाहा पाउन डिफ्युजन नोटिस जारी गरिन्छ भने ठाउँ पत्ता लागेमा पक्राउका लागि रेड नोटिस जारी हुन्छ । र, इन्टरपोलमार्फत सदस्य मुलुकमा खोजी हुन्छ । इन्टरपोलमा नेपालसमेत १९६ सदस्य राष्ट्र छन् ।
