आगलागीका १४ सय ४२ घटनामा २२ को मृत्यु, १६ सय ५६ घर परिवार प्रभावित

माघ ९, २०८१

कान्तिपुर संवाददाता

In 1442 cases of fire, 22 died, 1656 houses and families were affected

काठमाडौँ — चालु आर्थिक वर्ष (२०८०/०८१) सुरु भएयता भएका आगलागीका १४ सय ४२ घटनामा २२ जनाको मृत्यु भएको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहाकारी तथा प्राकृतिक स्रोत समितिमा गृह मन्त्रालयका सहसचिव टोकराज पाण्डेले यो तथ्याक‌ बताएका हुन् । उनले आगलागीका घटनामा परी मृत्यु हुनेमा ६ पुरुष र १६ जना महिला रहेका छन् ।

यही अवधिमा आगलागीका घटनाबाट १६ सय ५६ घर परिवार प्रभावित भएका छन् । आगलागीले ८८ घरमा आंशिक र २२८ घरमा पूर्ण क्षति हुँदा ६७ करोड २६ लाख १० हजार १ सय ५३ रुपैयाँ बराबरको क्षति भएको सहसचिव पाण्डेले बताए ।

उनले २०८० को फागुनदेखि वैशाख मसान्तसम्म आगलागीबाट ५६ तथा डढेलोको घटनाबाट १७ जनाको मृत्यु भएको पनि बताए । उनले तीन महिनाको यो अवधिमा आगलागी एवं डढेलोबाट १ अर्ब २३ करोड ७५ लाख ३१ हजार ९६५ रुपैयाँ बराबरको क्षति भएको पनि बताए ।

सहसचिव पाण्डेले डढेलो मानवीय हेलचेक्र्याँई र नियोजित रुपमा लगाउने गरिएको बताउँदै आगलागी र डढेलो नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जनचेतना बिस्तार र सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए ।

उनले आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय तथा वन क्षेत्रका जनशक्तिलाई तालिम प्रदान गर्ने तथा आगलागी नियन्त्रणका लागि सुरक्षा परिचालनको व्यवस्था मिलाइएको  पनि बताए । 

कान्तिपुर

Link copied successfully