ऊर्जामन्त्री खड्काले कानुनविपरीत काम गरिरहनुभएको छ : सांसद सापकोटा

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Energy Minister Khadka is working against the law: MP Sapkota

काठमाडौँ — ठूला विद्युत् परियोजना ठेक्का लगाउनदेखि नेपाल विद्युत् प्राधिकरणसँग विवाद गरेर ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नियम र कानुनविपरीत काम गरिरहेको प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बुधबारको बैठकमा देशका ठूला र व्यावसायिक रूपमा आकर्षक मानिएका जलविद्युत् परियोजना दिनका लागि पनि मन्त्री खड्काले कानुनविपरीत काम गरिरहेको सांसद सापकोटाको भनाइ थियो । किमाथांका अरुण परियोजना, जगदुल्ला हाइड्रोपावर, मुगु कर्णाली जलविद्युत् परियोजनालगायतका सम्बन्धमा मन्त्री खड्काले कानुनविपरीत काम गरेको उनले बताए ।

‘जगदुल्ला हाइड्रोपावरको विषयलाई लिएर र त्यसको निर्माण कम्पनी छनोट गर्ने विषय जसरी अगाडि आयो । राष्ट्रिय समाचार माध्यममा पनि त्यो आएको छ । त्योसँग सम्बन्धित रहेका निर्माण कम्पनी आफैँ अख्तियारमा मुद्दा लिएर जानुभयो । मन्त्रीले आफ्नो कार्यकक्षमा प्रतिस्पर्धामा रहेका आठवटा निर्माण कम्पनीलाई बोलाउनुभयो । जगदुल्ला हाइड्रोपावर कम्पनीका सीईओलाई पनि बोलाउनुभयो र सात वटा कम्पनी ब्याक हुने र एउटा कम्पनीले मात्रै क्वालिफाई बनाउनुपर्‍यो भन्नुभयो,' सांसद सापकोटाले भने, '१९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत् परियोजना र ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजा जसरी नियम मिचेर ठाडै त्यो त डकैतीकै शैलीमा एउटा निर्णय गरेर दिन प्रयत्न गर्नुभयो । देशव्यापी रुपमा चौतर्फी दबाब परिसकेपछि त्यो अहिले एउटा हिसाबले क्यान्सिल भएको छ ।'

मन्त्री खड्काले मुलुकको इज्जतमाथि नै आँच आउने गरी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग विवाद गरिरहेको पनि सापकोटाले बताए । 'यसबीचमा राज्यको इज्जत नै जानेगरी मन्त्रीले कुलमानजीसँग निहुँ खोज्दा-खोज्दा विद्युत् प्राधिकरणमै लगेर मन्त्रीज्यूको कार्यकक्ष खडा गर्नुभएको छ,' सापकोटाले भने, 'यी जम्मै चलिरहँदा समितिले उत्तरदायी बनाएर मन्त्रीले नियमविपरीत कामहरू गरिरहनुभएको छ ।'

कान्तिपुर संवाददाता

Link copied successfully