दाहाल दौडाहा : कात्तिकयता हरेक महिना एक रात चितवनमा बास

माघ ९, २०८१

रमेशकुमार पौडेल

चितवन — पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चितवन दौडाहा बाक्लिन थालेको छ । गृहजिल्ला चितवन भ्रमण कात्तिकयता उनले बढाएका छन् । मिलेसम्म एक रात बास बसेरै फर्किने गरेका हुन् ।

२०७४ सालको संसदीय निर्वाचनमा उनी चितवन–३ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७९ को संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट उठ्ने धेरैको अड्कल थियो । निर्वाचनको मिति नजिकिँदै जाँदा उनले चितवन–३ मै पर्ने शिवनगरमा घर पनि बनाए । तर अनुमान विपरीत उनी अचानक गोरखाबाट उम्मेदवार भएर सांसद निर्वाचित मात्रै भएनन्, प्रधानमन्त्री नै बने । त्यसपछि केही सुस्ताएको उनको चितवन दौडाहा कात्तिकयता भने बाक्लिएको छ ।

गत वर्षको माघ १ मा चितवनको पश्चिमी क्षेत्र मेघौली गोलाघाटमा कुमाल समाज नेपालले देशभरका कुमाल समुदायलाई भेला गरेर सांस्कृतिक पर्व माघे संक्रान्ति मनाउने योजना बनाएको थियो । समाजका अध्यक्ष विशाल कुमालले तत्कालीन प्रधानमन्त्री दाहाललाई प्रमुख अतिथि बनाउन निमन्त्रणा पत्र बुझाउँदै गरेको तस्बिर नै राखेर प्रचार सामग्री तयार गरेका थिए ।

प्रमुख अतिथि प्रधानमन्त्री हुने भनेर व्यापक प्रचारप्रसार भएको सो कार्यक्रममा अन्तिम समयमा दाहाल आएनन् । तर दाहाल गएको पुस १६ मा गोलाघाट पुगे । मेघौलीमा आयोजित भरतपुर भ्रमण वर्षको पहिलो वार्षिकोत्सव समारोह तथा रैथाने खाना महोत्सव कार्यक्रम समापन समारोहपछि उनी गोलाघाट पुगेका थिए ।

गोलाघाटमै छ उनै विशाल कुमालको रिसोर्ट । गोलाघाटबाट सूर्यास्तको मनमोहक दृश्य देखिन्छ । सूर्यास्तसँगै दाहाल विशालको रिसोर्टमा छिरेर चिया खाजा खाए । चितवन गोलाघाट पर्यटन विकास समितिको अध्यक्षसमेत रहेका विशालले दाहाललाई पर्यटन विकास र संरक्षणका लागि पनि केही सुझाव दिन भ्याए । विशालले निकुञ्ज क्षेत्रमा विद्युतीय यातायात ‘पोड वे’ राख्न सकिने बताए । चम्पानगरको कार्यक्रममा नेत्रविक्रम चन्दका साथ माओवादी अध्यक्ष दाहाल । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

गोलाघाटलाई केन्द्र बनाएर नारायणी र राप्ती नदीमा जल–यातायात सुरु गरे देवघाट, सौराहा र त्रिवेणी जोडिने र यसले धार्मिक र वन्यजन्तुमा आधारित दुवै खाले पर्यटनलाई प्रोत्साहित गर्ने विशाल कुमालको योजना दाहालले ध्यानपूर्वक सुने । 

दाहाल मेघौलीबाट फर्केपछि माघ ३ मा फेरि चितवन आए । त्यो दिन माडीमा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका प्रमुख अतिथि थिए दाहाल । विद्यालयको कार्यक्रमअघि उनी माडी बनकट्टामा बोटे समुदायले सञ्चालन गरेको होमस्टे पुगे । बिहानको खाना उनले त्यहीं खाए । माडीबाट फर्केको चार दिन नहुँदै माघ ७ मा उनी भरतपुरमा झुल्किए ।

आफ्नो निर्वाचन क्षेत्र गोरखामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी भरतपुर विमानस्थलमा ओर्लेका थिए । गोरखाबाट फर्केर चितवन बसेका दाहाल माघ ८ को बिहान देवघाट घुम्न निस्किए । दिउँसो काठमाडौं फर्कंदा भरतपुर विमानस्थलमा पत्रकारसँग केही राजनीतिक कुरा पनि गरे ।

दाहाल गोरखा जान भरतपुर विमानस्थलमा यसअघि पनि ओर्लिन्थे । तर, सिधै गोरखा लाग्थे । अहिले भने उनी निर्वाचन क्षेत्र जाँदा गृहजिल्लालाई ट्रान्जिट बनाउन थालेका छन् । दाहालको व्यस्तता पुस र माघमा मात्रै होइन, मंसिर र कात्तिकमा पनि चितवनमा देखिएको थियो ।

कात्तिक ३ मा दाहाल भरतपुर महानगरपालिका–१३ को चम्पानगरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । माओवादीका बेपत्ता नेता दण्डपाणि न्यौपानेको स्मृति भवन बनाउनका लागि आयोजना भएको सांस्कृतिक कार्यक्रममा दाहाल प्रमुख अतिथि बन्दा दाहालको नेतृत्वप्रति विमति जनाउँदै अलग भएर अर्को पार्टी बनाएका नेत्रविक्रम चन्द पनि सँगै अतिथि थिए । तस्बिर : रेणु दाहालको फेसबुक

कात्तिकपछि दाहाल मंसिर २५ मा भरतपुरमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन गर्न चितवन झरे । त्यसपछि थप केही दिन भरतपुरमै बसेका दाहालले पार्टी निकटका उद्योगी व्यवसायीहरूको संस्थाको सम्मेलनलाई पनि सम्बोधन गरेका थिए । दाहाल असार १५ मा धान दिवसको कार्यक्रममा सहभागी हुन चितवन आएका थिए । बछौलीमा आयोजित धान दिवस तथा रोपाइँ महोत्सव सकेर दाहाल काठमाडौं फर्केलगत्तै सत्ता समीकरण फेरिएको थियो ।

एमालेले माओवादी केन्द्रसँग गरेको गठबन्धन भत्काएर कांग्रेससँग गठबन्धन कायम गर्‍यो, प्रधानमन्त्री केपी शर्मा ओली भए । सत्ता सञ्चालनको व्यस्ततामा नरहेका दाहालले बर्खा र दसैं सकिएसँगै चितवन आउजाउलाई बढाएका हुन् । दाहालको यो व्यस्ततालाई आउँदो संसदीय निर्वाचनको तयारीका रूपमा बुझ्नेहरू पनि चितवनमा छन् । तर माओवादीका नेताहरू यसलाई नियमित पार्टी गतिविधि बताउँछन् ।

‘पार्टी अध्यक्षको गृहजिल्ला पनि हो । अघिल्लो पटक यहींबाटै सांसद पनि रहनु भयो । त्यसैले सामाजिक संघसंस्थाको पनि निमन्त्रणा गइरहन्छ । पार्टीका गतिविधिमा पनि सरिक हुनै पर्दछ । उहाँ चितवन आउनु पार्टीको नियमित गतिविधि नै हो,’ माओवादी केन्द्रको चितवन जिल्ला समन्वय समितिका संयोजक रहेका रामचन्द्र अधिकारीले भने ।

वि.सं. २०७४ को संसदीय निर्वाचनमा दाहालको पक्षमा प्रचार अभियानमा सक्रिय चितवनका वामपन्थी व्यक्तित्व प्रेम रिमाल दाहालको दौडधुपलाई निर्वाचनकै तयारीको एक अंगका रूपमा बुझ्छन् । पछिल्लो समय पार्टी राजनीतिमा नदेखिएका रिमाल दाहालको आलोचकका रूपमा पनि चिनिन्छन् ।

‘उहाँ लगातार जसो आइरहनु भएको छ भने आउँदो निर्वाचनको तयारीका रूपमा नै हेर्नुपर्ने हुन्छ । उहाँ गएको निर्वाचनमा नै चितवनबाट उठ्नु भएन र गोरखा लाग्नु भयो । अब पनि उहाँ यहाँबाट उठ्नु होला भन्ने लाग्दैन । सायद छोरी रेनुलाई राजनीतिक महौल बनाइदिन लाग्नु भएको छ,’ रिमालले भने । रेनु दाहाल हाल भरतपुर महानगरपालिकाको मेयर छिन् । उनी दोस्रो पटक महानगरको मेयर बनेकी हुन् ।

कात्तिकयता भएका चारवटा सार्वजनिक कार्यक्रममध्ये तीनवटा कार्यक्रम भरतपुर महानगरपालिकाभित्रै भएका थिए । भरतपुरमा भएको एउटा कार्यक्रम चितवन–३ मा पर्दैन । माडीसहित अन्य दुईवटा कार्यक्रम चितवन–३ मा भएका छन् । 

उनले राजनैतिक र अन्य कार्यक्रमको पनि सन्तुलन मिलाएको देखिन्छ । कात्तिक ३ मा चम्पानगरको कार्यक्रममा पार्टीलाई बलियो बनाउने र हृदय ठूलो बनाएर पार्टीबाट अलग भएका घटकहरूसँग एकीकरण गर्ने भाषण गरेका थिए । त्यसैगरी मंसिर २५ मा भरतपुर चौबिसकोठीमा भएको खबरदारी सभामा उनले सरकार, प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना र विरोध गर्नुका साथै सहकारी ठगी प्रकरणमा मुद्दा प्रक्रियाका रहेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा खुलेर बोले । त्यसपछि मेघौलीमा आयोजित कार्यक्रम राजनीतिक थिएन । माडीमा भएको कार्यक्रममा शैक्षिक विषयमा केन्द्रित रहेर बोलेका थिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully