लेखा समिति सभापतिको राजीनामा माग्नेलाई एमाले सांसद तामाङको धम्की : अबदेखि राम्रो हुँदैन

माघ ८, २०८१

कान्तिपुर संवाददाता

UML MP Tamang's threat to those who demanded the resignation of the chairman of the audit committee: It won't get better from now on

काठमाडौँ — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग्ने विपक्षी र सत्तारुढ कांग्रेसका सांसदहरूलाई सरकारको नेतृत्व गरिरहेको एमालेका सांसदले अबदेखि त्यो विषय उठाएमा 'राम्रो नहुने' भन्दै धम्की दिएका छन् ।

सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा विपक्षी दलहरू मा‌ओवादी र रास्वपा तथा सत्तारुढ कांग्रेसका सांसदहरूले सभापति पोखरेललाई पदबाट राजीनामा दिन भनेका थिए । सत्तारुढ दलको सांसद भएको, श्रीमती सहकारी ठगीको अभियुक्त भएको र स्वकीय सचिव पनि ठगीमा संलग्न रही प्रहरीको हिरासतमा रहेकाले पदबाट राजीनामा गर्नुपर्ने सांसदहरूले पोखरेललाई सुझाएका थिए । 

कांग्रेस सांसद अर्जुननरसिंह केसी, देवप्रकाश तिमिल्सिनाले सभापतिलाई राजीनामा गर्न सुझाएका थिए । त्यस्तै, विपक्षी दल माओवादी केन्द्रका सांसदहरू जनार्दन शर्मा, अमनलाल मोदी र लेखनाथ दाहाल, रास्वपाका सांसद हरि ढकालले सभापति विभिन्न प्रकरणमा मुछिएको र सत्तारुढ दलको सांसद भएकाले राजीनामा माग गर्नुपर्ने माग गरेका थिए । 

ठीक एक महिनापछि बसेको मंगलबारको बैठकमा विपक्षीसँगै सत्तारुढ सांसदहरूले पनि सभापति पोखरेललाई राजीनामा गर्न माग गरेपछि एमालेका सांसदहरूले भने धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । एमालेका सांसद तारा लामा तामाङले भने आगामी दिनमा सभापतिको राजीनामाको विषय उठान गरेमा 'राम्रो नहुने' भन्दै धम्की दिएका थिए । उनले बैठकको कार्यसूचीमा नरहेको सभापतिको राजीनामाबारे सांसदहरूले बोलेका कुरा लेखेको भएकाले सञ्चारमाध्यमलाई बैठकमा राख्नै नहुने प्रस्तावसमेत रहेका थिए । 

'जहिले पनि त्यै कुरा गरेको छ, सुरुदेखि त्यै कुरो । सभापतिको सम्बन्धमा अस्ति नै भनेको होइन ? सबै समितिको सभापतिहरू भोटिङ दिएर ल्याएको हो र ? सभापति बनाउँदा तीन-चार नेता बसेर यो-यो गर्ने भनेको हो,' तामाङले सभापतिलाई राजीनामा गर्न भन्ने सांसदहरूलाई भने, 'बोल्न पाए त्यै बोलेजस्तो गर्छन् माननीयहरू, यो ठीक लागेन । तपाईंलाई त्यस्तो लाग्छ भने बैठक बाहेक पनि अनौपचारिक बैठकहरूमा कुरा राख्दा भयो नि ! खाली यो बोल्या छ । समिति सभापति चलाउँ भनेर प्रचण्ड, प्रधानमन्त्री, देउवा, लामिछाने, नेपालकहाँ जाउँ । खाली यो त्यसैमा बोल्या छ । अनि यसो हेर्यो बोलेपछि हिँड्यो । अबदेखि यस्तो गरियो भने त्यति राम्रो चाहिँ हुँदैन है ।'

यति भनेपछि सांसद तामाङले पत्रकारहरूलाई संसदीय समितिमा बस्न नदिने प्रस्ताव सुनाए । 'जहिले पनि बैठक बस्छ, हामी विषयसँग सम्बन्धित भन्दा पनि पत्रकारहरू हुनुहुन्छ, चारैतिर क्यामेरा राखेको छ । भाइरल हुने कुरा ठ्याक्क राख्ने अनि यसो हेर्‍यो अनलाइन वा के मा देखेपछि सुट्ट जाने चलन हाम्रो छ । केही साथीहरूले बोलेको यहाँ आइसक्या पनि छ । बाहिर बोल्दा मैले त यो भने नि भन्ने । त्यसको न तुक छ न अर्थ छ,' उनले भने, 'म त विशेष प्रस्ताव पनि राख्न चाहन्छु, निर्णय सुनाउन मात्रै पत्रकारहरू राख्नुपर्छ । जे पनि बोल्या छ, भाइरल बनाउनका लागि । यसले हाम्रो मर्यादा बढिरहेको छ ?'

तामाङको भनाइमा माओवादी सांसद लेखनाथ दाहालले आपत्ति जनाएका थिए । उनले सोधे, 'अबदेखि राम्रो हुँदैन भनेको के हो ? कुस्ती खेल्ने हो कि ?'

जवाफमा तामाङले भने, 'जे बुझ्दा पनि हुन्छ, अबदेखि राम्रो हुँदैन भन्या हो ।'

दाहालले त्यसरी धम्की दिनु असंसदीय शब्द भएको र समितिको रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए । त्यसपछि समिति सदस्यसमेत रहेका एमाले सचिव योगेश भट्टराईले सांसद तामाङको धम्कीपूर्ण भाषाको बचाउ गरेका थिए । 'राम्रो हुँदैन भन्या के असंसदीय भाषा हो ?' भट्टराईले दाहाललगायत आपत्ति जनाउने सांसदलाई चेतावनी दिए, 'तपाईंभन्दा २० वर्ष पहिले सांसद बनेको हो ।'

यसबीचमा समिति सभापति पोखरेलले भने सांसदहरूबीचको विवाद साम्य पार्ने कुनै चासो राखेनन् । उनले हेरिरहेका थिए । तामाङले फेरि भने, 'तपाईं मात्रै छ र यो समितिमा ?' संसदीय समिति बैठक कसैको जिद्दी सुनाउनका लागि नरहेको पनि तामाङको भनाइ थियो ।

सार्वजनिक लेखा समितिका सभापतिलाई नैतिकताको आधारमा राजीनामा दिन माओवादीको माग

कान्तिपुर संवाददाता

Link copied successfully