लामिछाने प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियाको नाममा सिद्धार्थ बैंकमा खोलिएको खातामा सुप्रिम सहकारीबाट २ करोड २० लाख रकम जम्मा गरिएको थियो ।
बुटवल — सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा लगिएको रकमबाट कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेकी पत्नी निकिता पौडेलको नाममा समेत भुक्तानी गरिएको पाइएको छ । रूपन्देही जिल्ला अदालतमा आइतबार दायर पूरक अभियोजनमा सहकारीबाट लगिएको रकमबाट निकितालाई ३५ लाख चेकबाट र ९ लाख ९९ हजार नगद दिएको उल्लेख छ ।
लामिछाने प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियाको नाममा सिद्धार्थ बैंकमा खोलिएको खातामा सुप्रिम सहकारीबाट २ करोड २० लाख रकम जम्मा गरिएको थियो । उक्त खाताबाट निकितालाई रकम दिएको देखिएको अभियोगपत्रमा उल्लेख छ । अभियोगपत्रअनुसार निकिताले सन् २०२० सेप्टेम्बर २७ मा खाता नं. ०२४१५२०७२३१ बाट ३५ लाख र लगत्तै सेप्टेम्बर २९ मा गोर्खा मिडियाका पूर्वप्रबन्धक लक्ष्मीप्रसाद पौडेलबाट ९ लाख ९९ हजार नगद लिएकी थिइन् ।
‘गोर्खा मिडिया नेटवर्कको नाममा सिद्धार्थ बैंक लिमिटेडमा खोलिएको खाता नं. ००११५९७८०९७ मा लक्ष्मीप्रसाद पौडेल, छविलाल जोशी र गितेन्द्रबाबु राईसमेत सञ्चालक रहेको र उक्त खातामा २ करोड २० लाख सहकारीको बचत रकम अपचलन गरेर जम्मा गरी/गराई गोर्खा मिडिया नेटवर्कमा प्रारम्भिक रूपमा लगानी गरेको देखिन्छ,’ अभियोगपत्रमा उल्लेख छ, ‘सोही रकमबाट यी प्रतिवादी (रवि लामिछाने) को श्रीमतीलाई भुक्तानी दिन लगाई लिई खाएको देखिन आएबाट सहकारीको बचत अपचलन गर्ने कार्यमा संलग्नता पुष्टि हुन्छ ।’
बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको हो । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ ।
पूरक अभियोजनमा लामिछानेले आफ्नो नाममा भीआईपी खाता खोल्न लगाएको दाबी गरिएको छ । ‘यी प्रतिवादीले गीतेन्द्रबाबु राई (जीबी) सँग मिलेमतो गरी सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र व्यवस्थापक सागर केसीलाई परिचालन गरी/गराई आफ्नो परिचय गोप्य राख्न लगाई भीआईपी एकाउन्ट बनाई संगठित रूपमा बचत अपचलन गरेको पुष्टि हुन्छ,’ अभियोगपत्रमा भनिएको छ ।
लामिछानेले गोर्खा मिडियामा रहेको आफ्नो नामको सेयर बिक्री गरी २०७९ असार १ देखि अलग भए पनि त्यसपछि विभिन्न मितिमा विभिन्न व्यक्तिलाई कम्पनीकै चेकबाट ७१ लाख ८० हजार ४ सय ९९ भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ । अभियोगपत्रअनुसार लामिछानेले आफ्नो नाममा पनि ९ लाख ८५ हजार ७ सय ४९ रुपैयाँको चेक काटेर रकम लिएको देखिएको छ ।
यसअघि गत वैशाख ३ मा सुप्रिमको रकम अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो । त्यतिबेला लामिछाने गृहमन्त्री थिए । गृहमन्त्री भएकै कारण उनीविरुद्ध प्रहरीले ‘अनुसन्धान नगरी उन्मुक्ति दिएको’ थियो ।
४४ जनाले लामिछाने लगायतविरुद्ध गत असोज ५ मा पूरक जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पूरक जाहेरी परेकाले कात्तिक २ मा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेकै बेला लामिछानेलाई रूपन्देही लगेर सुप्रिम सहकारी ठगीका विषयमा बयान लिइएको थियो ।
मुद्दाका ४२ प्रतिवादीमध्ये तीन जना थुनामा र ६ जना धरौटीमा रिहा भएका छन् । पूरक मुद्दाका २२ जना मध्ये नेक्सस म्युजिक बार प्रालिका एकल सञ्चालक रहेका शिवबहादुर गुरुङ, सुप्रिम सहकारीका सचिव कुमार रम्तेल मात्र कास्की कारागारमा थुनामा छन् । त्यस्तै, थप अभियोग लागेका १७ जनामध्ये ओमप्रकाश गुरुङ मात्र थुनामा छन् ।
छवि ५० लाख धरौटीमा रिहा
काठमाडौं– काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगीका मुख्य अभियुक्तमध्येका एक पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले दुई दिनको सुनुवाइपछि सोमबार जोशीलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने आदेश गरेको हो ।
पूर्वगृहमन्त्री रवि लामिछाने, जोशीलगायत ३९ विरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
उक्त मुद्दामा लामिछानेलाई गत साता अदालतले ६० लाख धरौटीमा रिहा गरिसकेको छ । उनीहरूले स्वर्णलक्ष्मी सहकारीबाट १ अर्ब १९ करोड ३० लाख रुपैयाँ अपचलन गरेको अभियोग छ ।
