बागलुङ — उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारलाई स्थायित्व दिएर देश विकासमा योगदान गर्न एमालेसँग सहकार्य गरिएको बताएका छन् । उनले राज्यलाई अस्थिर बनाएर कांग्रेसले टुलुटुलु हेर्न नसक्ने भएकोले यो गठबन्धन चाहिएको बताए ।
नेपाली कांग्रेस बागलुङले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटमा बोल्दै सिंहले देशलाई स्थायित्व दिने, अप्ठ्यारो पर्दा निकास दिने र शान्ति प्रक्रियालाई निष्कर्षमा लैजाने जिम्मा पनि कांग्रेसको भएको बताए । ‘जब-जब राष्ट्रलाई संकट पर्छ, त्यतिबेला कांग्रेसले अगुवाई गर्नु पर्छ,’ सिंहले भने, ‘राज्यलाई अगुवाई गर्ने कांग्रेस अब आफैंभित्र पनि चुस्त र सक्रिय बन्नुपर्छ ।’ दल भित्रका गुट-उपगुट अन्त्य गर्ने र एक्लै निर्वाचनमा जाने पार्टी बनाउन पनि गुट अन्त्य चाहिएको बताए ।
लोकतन्त्रमा विधि र पद्धतिलाई प्रमुख मान्नुपर्ने उनले कार्यकर्तालाई सुझाए । ‘विधि र पद्धतिमा कांग्रेस चल्न सक्यो भने मात्र राज्य र अन्य दललाई पनि विधिको शासनबारे भन्न सकिन्छ,’ उनले भने, ‘सरकारमा पनि हामी विधि र पद्धति बसाल्ने अभियानमा छौं ।’
समाज सुधार गर्न पनि पार्टी भित्रको लोकतन्त्र बलियो बन्नुपर्ने उनले बताए । देशभर संचालित योजनाहरुलाई व्यवस्थित रुपमा पूरा गर्ने र समयमा राज्यको सम्पत्तिको सदुपयोग गर्ने काममा समेत सरकारले चासो राखेको उनको धारणा थियो । ‘बजेट बनिसकेपछि यो सरकार बनेको हो, तर भएको नीति र बजेटलाई समन्वय गर्दैछौं.’ उनले भने, ‘आफ्नै नीति र कार्यक्रम सहितको बजेट ल्याउँदा राज्यलाई सही निकास दिने लक्ष्य छ ।’
बागलुङमा नगरपालिकाले संचालन गरेको सहरी शासकीय सुधार परियोजनाले गरेको प्रगति विवरणले हौसिएका मन्त्री सिंहले अस्पताललाई व्यवस्थित बनाउने, मेडिकल कलेज खोल्नेजस्ता कामले रोजगार प्रवर्द्धन र नागरिकको स्वास्थ्य सुधार हुने भन्दै ती योजनामा संघीय सरकारको साथ रहने पनि बताए ।
बागलुङ नगरपालिकाले घोषणा गर्ने बालमैत्री स्थानीय शासनयुक्त स्थानीय पालिकाको घोषणासभाका लागि सिंह बागलुङ आएका हुन् । नगरपालिकाले १४ वटै वडा घोषणा गरिसकेकोले बुधबार नगर घोषणा गर्ने तयारी गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
