गोरखा — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै संख्याको बलमा बाहिरिन बाध्य पारिएको बताएका छन् ।
सोमबार गोरखा नगरपालिका–८ स्थित सरस्वती माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै दाहालले आफू नेतृत्वको सरकारले सुशासन कायम गर्न, सामाजिक न्यायका क्षेत्रमा र अन्तराष्ट्रिय स्तरमा नेपालको छवि उज्यालो बनाउने काम गोरखा–२ मतदाताको भावना र अभिमतको बलमा भएको बताए ।
‘सिङ्गो राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा पनि गोरखाको जनप्रतिनिधिको हैसियतले गर्न सक्ने जति राम्रो काम गर्ने जमर्को गरेँ,’ उनले भने,‘यही राम्रो काम गर्नु बिचौलिया, दलाल र बुर्जुवा सोच भएका अराजकतावादीलाई सह्य भएन, तथाकथित संख्याको बलमा मैले राम्रो काम गर्दागर्दै बाहिरन बाध्य पारियो ।’
आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि नयाँ संकल्पसहित अघि बढ्ने जमर्को गरेको उनले बताए । ‘नेपालको इतिहासमा सुशासनको पक्ष तथा बेथिति र भ्रष्टचारविरुद्ध यति ठूलो अभियान पहिलोचोटी चल्यो, राजनीतिक पार्टी, कर्मचारी तन्त्रका बडा/बडा हाकिमहरू, भूमाफिया, दलाल, बिचौलिया कोही बच्ने स्थिति थिएन, एकपछि अर्को सुशासनको अभियानका क्रममा कारबाहीमा परेँ ।’ नेपाली जनताको बृहत्तर हितका लागि अन्तर्राष्ट्रिय स्तरका मञ्चमा पनि आवाज उठाएको उनले बताए ।
त्यस्तै दाहालले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । विकास र समृद्धि, अनुशासन, स्थिरताको आधार शिक्षा क्षेत्रले तय गर्ने उनले बताए । विकसित देशले पनि विकासका लागि शिक्षा क्षेत्रमा ठूलो लगानी गर्ने गरेको उनले बताए । ‘विकसित देश र विकसित देशका नेताको पनि प्राथमिकता शिक्षा क्षेत्रमा पर्छ, देश विकासको आधार शिक्षा क्षेत्र नै हो,’ उनले भने । वर्षौंदेखि रोकिएको शिक्षा विधेयक अघि बढेको पनि उनले बताए । ‘संविधानमा मौलिक हक भनेर लेखेका छौं, आवश्यक ऐनको व्यवस्था नगर्दा संविधानमा लेखिएका कुरा कागजी मात्र बन्ने खतरा पैदा भएको छ,’ उनले भने,‘८/९ वर्षदेखि रोकिएको शिक्षा विधेयकलाई दोस्रो पटक मन्त्रिपरिषद्बाट संसद्मा पुगेको छ ।’ आवश्यक संशोधनसहित शिक्षक कर्मचारीको हितलाई केन्द्रबिन्दुमा राखेर विधेयक अघि बढाइने उनले बताए ।
